मच्छिन्द्रका देवेन्द्र तामाङको निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल क्लब दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकपको च्याम्पियन बनेको छ। आज कपिलवस्तुको बुद्ध रंगशालामा भएको फाइनल खेलमा मच्छिन्द्रले थ्री स्टार फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो।
खेलको १२औँ मिनेटमै देवेन्द्र तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए, जुन अन्ततः जितको आधार बन्यो। उत्कृष्ट प्रदर्शन गरेका उनी म्यान अफ द म्याचसमेत घोषित भए। जसअन्तर्गत उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्।
उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र हात पर्न सफल भएको छ। उपविजेता बनेको थ्री स्टार फुटबल क्लबले पाँच लाख ५५ हजार ५५५ रुपैयाँसहित शसिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ।
सेमिफाइनल चरणमा मच्छिन्द्रले जोङ्ग्री एफसी सिक्किमलाई १–० को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो। यस्तै, थ्रीस्टारले सेमिफाइनलमा संकटा एफसीलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थिय।
जिल्ला फुटबल संघ, कपिलवस्तुको आयोजनामा १४ फागुनमा प्रतियोगिता सुरु भएको थियो।