लागुऔषध ओसारपसार आरोपमा १५ दिनमा १० जना पक्राउ

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण
लागुऔषध ओसारपसार आरोपमा १५ दिनमा १० जना पक्राउ

पाँच हजार ट्याब्लेट ट्रामाडोलसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गर्दै बाँके प्रहरी

नेपालगन्ज नाका लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । लागुऔषध ओसारपसार र प्रयोगकर्ताको संख्यासँगै पक्राउ पर्नेको संख्या बढेपछि नेपालगन्ज नाका ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको पुष्टि भएको हो । 

लागुऔषध ओसारपसारको प्रमुख गन्तव्य नेपालगन्ज बन्न थालेपछि प्रहरीले पहिलो प्राथमिकतामा लागुऔषध नियन्त्रणलाई बनाएको बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताए । उनले हरेक दुई दिनमा एक–दुईजना लागुऔषध ओसारपसार तथा कारोबारी पक्राउ पर्ने गरेको जानकारी दिए । पछिल्लो १५ दिनमा १० जना लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता पक्राउ परेको र सातजनाविरुद्ध मुद्दा दायर गरिएको बताए । ‘पछिल्लो १५ दिनमा १० जना लागुऔषध ओसारपसार तथा प्रयोगकर्तालाई पक्राउ गरिएकोमा सातजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ,’ उनले भने । 

कार्कीले १५ दिनमा एक किलो एक सय ग्राम ब्राउनसुगर, चार किलो २२० ग्राम चरेस र पाँच हजार ट्याब्लेट ट्रामाडोल ट्याब्लेट बरामद गरेको बताए । ‘अपराध नियन्त्रणअन्तर्गत बाँके प्रहरीको पहिलो प्राथमिकतामा लागुऔषध नियन्त्रण रहेको छ,’ एसपी कार्कीले भने, ‘नेपालगन्ज लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि प्रहरीले नियन्त्रण गर्न अभियान थालेको हो । यो अभियान जारी रहनेछ ।’

लागुऔषध ओसारपसार गर्ने भरियालाई मात्र नभई मुख्य कारोवारीलाई पक्राउ गर्ने योजनाका साथ प्रहरी अगाडि बढेको उनको भनाइ छ । उनले लागुऔषध नियन्त्रणका लागि बाँकेको प्रमुख नाका जमुनाहा र अन्य सहायक नाकामा कडाइ गरिएको पनि बताए । ‘नाकामा प्रहरी परिचालन गरिएको छ, सुराकीका लागि लागुऔषध प्रयोगकर्तालाई समेत परिचालन गरिएको छ,’ कार्कीले भने । उनले जिल्ला प्रहरी कार्यालयमा सबैभन्दा धेरै लागुऔषध मुद्दाका थुनुवा पनि भएको बताए । लागुऔषध मुद्दाका थुनुवाका कारण जिल्ला प्रहरी कार्यालयको थुनुवा कोठा भरिएको छ । ‘लागुऔषधका थुनुवा दिनप्रतिदिन थपिँदै गएपछि राख्ने ठाउँसमेत अभाव भएको छ,’ उनले भने । 

See More On

सुझावित समाचार