काठमाडौं महानगरपालिका– ३२, कोटेश्वर महादेव मन्दिरनजिक रहेको खाली जग्गामा ऐतिहासिक ढुंगेधारा फेला परेको छ । उक्त स्थानमा महानगरले स्वर्णिम योजनाअन्तर्गत भवन बनाउन शिलान्यास गर्न खाल्डो खनिसकेको थियो । यसका लागि महानगरले चालू आर्थिक वर्षमा एक करोड ३८ लाख बजेट विनियोजनसमेत गरेको थियो । तर, एक महिनाअघि सम्पदाप्रेमीहरूले उक्त शिलान्यास कार्य रोकेर पुरातत्त्व विभागको ध्यानाकर्षण गराएपछि उत्खनन गर्दा हिटी (ढुंगेधारा) भेटिएको हो ।





