सत्तारूढ दल जसपा नेपालले झन्डै दुईतिहाइ शक्तिको वर्तमान सरकार असफल र असक्षम भइसकेको निष्कर्ष निकालेको छ । आइतबार सुरु भएको जसपा नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सुशासन, समृद्धि र विकास कोरा नारामा मात्र सीमित रहेको उल्लेख छ । यादवले सरकारले आफ्नो आयु लम्ब्याउन जालझेल र अरू दल कमजोर बनाउने नीति लिएको आरोप पनि लगाएका छन् ।
यादवले आफ्नो प्रतिवेदनमा समग्र क्षेत्रमा सरकारले उपस्थिति जनाउन नसकेको उल्लेख छ । ‘सरकारप्रति जनतामा नैराश्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्र्न सरकारको कुनै ठोस नीति, कार्यक्रम तथा योजना देखिन्न । सरकार संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउनेतिर लागेको छ । अर्थतन्त्र कमजोर बनाउने काम भएको छ । नीतिगत तथा संस्थागत सुधार ल्याउन सकेको छैन । उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सकेको छैन,’ उनको प्रतिवेदनमा छ, ‘आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकेको छैन । भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन सकेको छैन । सरकारले राष्ट्रिय हितको रक्षा र राष्ट्रिय हितअनुकूल परराष्ट्र नीति कायम गर्न सकेको छैन । यी सबै कारणले सरकार असफल र असक्षम साबित भइसकेको छ ।’
सरकारमा सहभागी दलका नेता र तिनका परिवारका सदस्यहरू नै ठुला–ठुला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यसविरुद्ध सरकार मौन रहेको यादवको आरोप छ । ‘सरकार पूर्वाग्रही हिसाबले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण कार्य गरिरहेको छ । ओली नेतृत्वको सरकार आयु लम्ब्याउन जालझेल गर्ने र अरू दललाई कमजोर बनाउने नीति लिएको छ,’ यादवको राजनीतिक प्रतिवेदनमा छ ।
उपेन्द्र यादव, अध्यक्ष, जसपा नेपाल
सरकार पूर्वाग्रही हिसाबले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण कार्य गरिरहेको छ । ओली नेतृत्वको सरकारले आयु लम्ब्याउन जालझेल गर्ने र अरू दललाई कमजोर बनाउने नीति लिएको छ ।
यादवले सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नभएको दाबी गरेका छन् । ‘रियल स्टेट र भू–माफिया तथा दलालहरूको पक्षपोषण गर्ने खालको अध्यादेश छ । यो अध्यादेश तराई÷मधेशको वनजंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरूलाई वितरण गर्ने उद्देश्यका साथ ल्याइएको हो,’ यादवले भनेका छन्, ‘उक्त अध्यादेशअनुसार वास्तविक भूमिहीन, सुकुमवासीहरूले जग्गा प्राप्त गर्न नसक्ने अवस्था छ । अर्कोतर्फ, पर्यावरणीय संकट उत्पन्न भई समस्या झन् जटिल हुन सक्ने भएकाले हामी भूमि अध्यादेशको विरुद्धमा दृढताका साथ उभिएका छौँ ।’
संसद्बाट भूमिसम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी पाँचवटा अध्यादेशलाई पनि सहयोग र समर्थन नगर्ने चट्टानी अडानको कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न नसकेको दाबी यादवको छ । सरकारले जारी गरेको अध्यादेशमा रहेको गलत नीति र प्रावधानविरुद्ध लिएको अडानको कारण देश र जनतामा जसपा नेपालप्रतिको विश्वास बढेर गएको उनको विश्लेषण छ । जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था हुने गरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।