लुम्बिनी प्रदेश सरकारले सामुदायिक वन उपभोक्ता महासंघले राखेका विभिन्न मागको बारेमा छलफल गर्न मुख्यमन्त्रीस्तरीय बैठकबाट एक उच्चस्तरीय वार्ता समिति गठन गरेको छ।
लुम्बिनी प्रदेश सभाअन्तर्गतको कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक संयोजक रहेको पाँचसदस्यीय वार्ता समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। वार्ता समितिमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थी र सदस्य सचिवमा वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले रहेका छन्।
सामुदायिक वन उपभोक्ता महासंघले राखेका मागहरूको सम्बन्धमा गठित वार्ता समितिले छलफल गर्नेछ। सामुदायिक वन उपभोक्ता महासंघले प्रदेश आर्थिक ऐन, ०८१ बमोजिम सामुदायिक वन उपभोक्ता समूहमा लगाएको वन पैदावार शुल्क खारेजीलगायतका माग राख्दै आन्दोलन गर्दै आएको छ।