वर्षाले खेल रद्द भएसँगै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

आइसिसी च्याम्पियन ट्रफीमा अस्ट्रेलिया र अफगानिस्तानबिचको खेल वर्षाका कारण रद्द हुन पुगेको छ। खेल रद्द भएसँगै अस्ट्रेलिया सेमिफाइनलमा पुगेको छ। 

लाहोरमा भएको खेलमा सुरुमा ब्याटिङ गरी अफगानिस्तानले अस्ट्रेलियालाई २७४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा अस्ट्रेलियाले १२.५ ओभरमा एक विकेट गुमाएर १०९ बनाएको थियो। त्यसपछि वर्षाले खेल अवरुद्ध हुँदै रद्द भएको हो। डिएलएसका आधारमा नतिजाका लागि एकदिवसीय खेलमा कम्तीमा दुवै टिमले २० ओभर ब्याटिङ गरेको हुनुपर्ने हुन्छ । 

अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्यान्डलाई हराएको थियो भने दोस्रो खेल वर्षाकै कारण रद्द भएपछि दक्षिण अफ्रिकासँग अंक बाँडेको थियो। तेस्रो खेल पनि अंक बाँडेसँगै चार अंकका साथ अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको हो। 

समूह ‘बी’मा अब दक्षिण अफ्रिका र इंग्ल्यान्डबिचको खेल बाँकी छ । यो खेलमा दक्षिण अफ्रिका विजयी भएमा ऊ स्वतः सेमिफाइनलमा पुग्नेछ भने इंग्ल्यान्डले जितेमा पनि नेटरनरेटका आधारमा दक्षिण अफ्रिकाकै सम्भावना उच्च हुनेछ। दक्षिण अफ्रिकाले ठुलो अन्तरले हारेमा मात्र अफगानिस्तान सेमिफाइनलमा पुग्नेछ। 

समूह बीमा रहेको इंग्ल्यान्ड भने दुई खेल हारेर समूह चरणबाटै बाहिरिसकेको छ । उसले पहिलो खेल अस्ट्रेलियासँग र दोस्रो खेल अफगानिस्तानसँग हारेको थियो। 

समूह ‘ए’बाट भारत र न्युजिल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ। 
 

सुझावित समाचार