बेलासपुर घटना : दुवै पक्षबिच सहमति, मृतकको दाहसंस्कार

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण
बेलासपुर घटना : दुवै पक्षबिच सहमति, मृतकको दाहसंस्कार

फाइल तस्बिर

विवाहको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा एकजनाको ज्यान जाने गरी भएको घटनाका दुवै पक्षबिच पाँचबुँदे सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा दुवै पक्षबिच आज बिहीबार सहमति भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार सहमतिपछि मृतकका परिवारले शव बुझेका छन्। मंगलबार भएको झडपमा परी पाल्हिनन्दन–३ का ३५ वर्षीय विजय धवलको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।

मृतक धवलको आज नै पश्चिम नवलपरासीको रामग्राम र पाल्हिनन्दनको सिमानामा पर्ने परासीको झराही खोलामा दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी रेग्मीका घटनामा ज्यान गुमाउनेका परिवारलाई नियमानुसार उचित क्षतिपूर्ति उपलब्ध गराउने, सक्दो छिटो घटनाको अनुसन्धान गर्ने, निर्दोष देखिए तत्काल रिहा गर्ने र दोषीउपर कडा कारबाही गर्ने, सोही विषयलाई लिएर कुनै पनि पक्षबाट थप झडपको स्थिति सिर्जना हुन नदिने, सामाजिक सद्भाव खलल हुन नदिन दुवै पक्ष संयमित हुने तथा मृतकको दाहसंस्कार गर्ने सहमति भएको हो।

यसैबिच, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नारायण थापाका अनुसार संलग्नता नदेखिएका दुईजनालाई रिहा गरिएको र पक्राउ परेका ६ जनामध्ये ४ जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। 
नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३, बेलासपुरकी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबीबिचको प्रेम सम्बन्ध र विवाहको विषयले निम्त्याएको आक्रोशका कारण मंगलबार ज्यान जानेसम्मको घटना भएको थियो। धोबीले खातुनलाई भगाएर विवाह गरेपछि केटा र केटी पक्षबिच करिब दुई महिनादेखि विवाद हुँदै आएको थियो।

युवतीका दाइले पिकअप भ्यानले ठक्कर दिएर दुईजनालाई घाइतेसमेत बनाएका थिए। घाइतेमध्ये विजय धवलको मृत्यु भएको हो। गाडीको ठक्करबाट घाइते भएका अर्का व्यक्ति वैद्यनाथ लौनियाको भने उपचार भइरहेको छ। प्रेम विवाह गरी फरार रहेका भनिएका युवा युवती भारततिर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

सुझावित समाचार