पाथीभरा केबलकारको विषयमा हुलदंगा मुद्दाका फरार दुईजना पक्राउ

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङको पाथीभरामा केबलकार विवादको विषयमा भएको झडपमा आपराधिक उपद्रो र हुलदंगा गरेको मुद्दामा फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार वीरेन्द्रचाेकलगायत विभिन्न ठाउँमा आपराधिक उपद्रो गरेको अभियोगमा जिल्ला प्रहरी ताप्लेजुङले दुईजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पाँचथर याङबरक गाउँपालिका– २ की ४३ वर्षीया इन्दिरा धौराली र फक्ताङलुङ गाउँपालिका– ५ का ३७ वर्षीय सुवास तुम्बाहाङफे रहेको प्रहरीले जनाएको छ । फुङलिङ बजारको वीरेन्द्रचोकमा शनिबार साँझ भएको झडपमा आपराधिक उपद्रो र हुलदंगा गरेको, साथै जिल्लाका विभिन्न ठाउँमा हुलदंगा गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनापछि फरार रहेका उनीहरूलाई खोजतलास गर्ने क्रममा सोमबार फुङलिङ नगरपालिका– ४ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलले जानकारी दिए । 

हुलदंगाको आरोपमा प्रहरीले शनिबार राति १५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थपी अनुसन्धानलाई जारी राखिएको जिल्ला प्रहरी कार्यालय प्रमुख रावलले जानकारी दिए । उनका अनुसार सोमबार नियन्त्रणमा लिइएका धौराली र तुम्बाहाङ्फेलाई समेत सोही म्यादमा मिलान हुने गरि पाँच दिनको समयावधि लिई अनुसन्धान सुरु गरिएको प्रनाउ रावलले बताए । 

मुलुकी संहिता २०७४ को दफा ६३ बमोजिम हुलदंगा गरेको र सोही संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रो गरेको कसुरमा १५ जनालाई नै अनुसन्धान गरिरहेको र दुईजनालाई पनि अनुसन्धान गरिने प्रहरी प्रमुख रावलको भनाइ छ । 

सुझावित समाचार