जर्मनीको चुनावले उग्र दक्षिणपन्थलाई रोक्न सक्ला ?

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

सस्थापनविरोधी धारको उदयका वेला जर्मनीको ‘ट्राफिक लाइट’ गठबन्धन (एसपिडी, एफडिपी, ग्रिन्स) विघटनपछि २३ फेब्रुअरीमा आकस्मिक संघीय चुनाव भएको छ । आर्थिक मन्दी, अनियमित आप्रवासन र सुरक्षा चिन्ताले जनताको विश्वास कमजोर बनेको छ । जलवायु परिवर्तनको सट्टा अब अर्थतन्त्र र आप्रवासन प्रमुख मुद्दा बनिरहेका छन् । जनता व्यापक परिवर्तन चाहन्छन्, तर के उनीहरूले त्यो परिवर्तन पाउनेछन् ?

मतदाताको उत्साह उल्लेखनीय रूपमा घटेको देखिएको छ । यसअघि कहिल्यै प्रमुख उम्मेदवार अहिलेजति अलोकप्रिय भएका थिएनन् । असन्तुष्टि केवल राजनीतिको लोकप्रियतामा मात्रै सीमित छैन, बरु विभिन्न अध्ययनले राजनीतिक संस्थाप्रति समेत व्यापक निराशा बढिरहेको देखाउँछन् । यही चुनाव आउन केही दिन बाँकी हुँदा पनि झन्डै एकतिहाइले कसलाई मत दिने भनेर निर्णय गरेका थिएनन् । यस्तो व्यापक अनिश्चितताका बिच भएको चुनावमा अप्रत्याशित नतिजा आउन सक्ने सम्भावना प्रस्ट छ ।

करिब ३० प्रतिशत समर्थनका साथ क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियू)का फ्रेडरिक मर्ज चान्सलर पदका प्रमुख दाबेदार छन् । एन्जेला मर्केलपछि मर्जले सिडियूलाई थप दक्षिणपन्थतर्फ मोडेका छन् ताकि उग्र दक्षिणपन्थी पार्टी अल्टर्नेटिभ फर जर्मनी (एएफडी)तर्फ गएका मतदातालाई फिर्ता ल्याउन सकियोस् । यो रणनीति सफल हुन्छ वा हुँदैन, त्यो बहसको विषय हो, तर एएफडीको समर्थन २० प्रतिशत नाघेको छ जुन उग्रवादी आशंका गरिएको पार्टीका लागि कीर्तिमान हो । यसैबिच चान्सलर ओलाफ सोल्जको सोसल डेमोक्रेट पार्टी (एसपिडी) १६ प्रतिशतमा खुम्चिएको छ जुन एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा खराब नतिजा हुनेछ । र, सोल्जको पार्टी ग्रिन पार्टी (ग्रिन्स)भन्दा थोरै मात्रैले अगाडि छ, जसको समर्थन करिब १४ प्रतिशत देखिन्छ ।

जर्मनीको पाँच प्रतिशत संसदीय सीमा (थ्रेसहोल्ड)का कारण केही साना दलको भविष्य अन्योलमा छ । उग्र वामपन्थी डाई लिंके, व्यापारीनिकट एफडिपी र नयाँ वामपन्थी लोकप्रियतावादी पार्टी सारा वागेनक्नेक्ट एलायन्स थ्रेसहोल्डभन्दा मुनि पुग्ने स्तरमा छन् । तिनको प्रदर्शन निर्वाचन क्षेत्रविशेषबाट प्रत्यक्ष म्यान्डेट प्राप्त गर्ने क्षमतामा भर पर्छ, अर्थात् आगामी जर्मन संसद्मा चारदेखि सातसम्म दल समावेश हुन सक्छन् । यस्तो अनिश्चितताले अन्तरयुद्धकालीन अस्थिर वाइमर गणराज्यको झल्को दिनु आश्चर्यको विषय होइन ।

मतदातालाई उग्र दक्षिणपन्थतर्फ जान नदिन भाषण र भय देखाएर मात्र नभई विश्वसनीय समाधान पेस गर्न आवश्यक छ
 

राजनीतिक म्यान्डेटको दृष्टिकोणले हेर्दा अर्को संसद्ले ऐतिहासिक रूपमा न्यून अनुपातका मतदाताको प्रतिनिधित्व गर्न सक्छ वा मतदाता अत्यधिक विभाजित हुन सक्छन्, जसमा अभूतपूर्व संख्यामा सम्भावित गठबन्धन साझेदार समावेश हुनेछन् । सबै प्रमुख दलले एएफडीसँग सहकार्य गर्न अस्वीकार गरिरहेकाले सबैभन्दा सम्भावित विकल्प सिडियू नेतृत्वमा एसपिडी र ग्रिन पार्टी (ग्रिन्स)सहितको गठबन्धन बन्न सक्ने सम्भावना बलियो देखिन्छ । यद्यपि, अन्तिम विकल्पका रूपमा अल्पमतमा आधारित सिडियू सरकार बन्ने सम्भावना पनि रहन्छ जसले राजनीतिक सामान्यबाट नाटकीय विचलन दर्साउनेछ ।

जर्मन विश्लेषक यी विकल्पलाई लोकतन्त्रविरोधी उग्र दक्षिणपन्थी शक्तिविरुद्धको ढाल (फायरवाल)का रूपमा लिन्छन् । तर, व्यापक जनअसन्तुष्टिबिच विभाजन र ध्रुवीकरणका आफ्नै जोखिम छन् । यदि मर्जले जिते भने उनले गम्भीर वैचारिक मतभेद पार गर्दै वामपन्थी साझेदारसँग मिलेर गठबन्धन बनाउनुपर्नेछ र जनताको पुरातनपन्थी नीति अपनाउने आदेशलाई साझा एजेन्डामा रूपान्तरण गर्नुपर्नेछ ।

निश्चय नै नीति निर्धारण गर्ने अधिकार चान्सलरको हुन्छ । तर, जर्मनीमा कनिष्ठ गठबन्धन साझेदारले आफ्ना संख्यात्मक शक्तिभन्दा पनि पर सरेर गठबन्धन सम्झौतामा प्रभाव पार्ने इतिहास छ । अघिल्लो सरकारमा ग्रिन्सको भूमिकाले यसको स्पष्ट उदाहरण प्रस्तुत गर्छ । त्यसैले बन्ने सरकारले जर्मन नागरिकले आशा गरेका ठुला परिवर्तन ल्याउन गाहै्र पर्ने देखिन्छ । कुनै पनि गठबन्धनले आवश्यक लगानीका लागि जर्मनीको कडा ‘ऋण रोक’ डेट ब्रेकमा सुधार गर्न सहमति जनाउने सम्भावना छ, तर ऊर्जा र आप्रवासनदेखि सामाजिक सुरक्षा एवं लैंगिक नीतिसम्मका मुख्य विषयमा दिगो सहमति कायम गर्न धेरै कठिन हुनेछ ।

तर, यो चुनावको दायित्व निकै गम्भीर छ । गत वर्ष एएफडीले जर्मनीका १६ राज्यमध्ये एकमा चुनावी विजय हासिल ग¥यो दुई अन्य राज्यमा दोस्रो स्थान प्राप्त गर्यो र युरोपेली चुनावमा पनि उल्लेखनीय प्रगति गरेको थियो । पूर्वी जर्मनीमा यो दलले आफूलाई सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा दृढ रूपमा स्थापित गरिसकेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इलन मस्कले खुला रूपमा समर्थन गरेको अवस्थामा एएफडीका नेतालाई आफ्नो पक्षमा हावा बहिरहेको महसुस हुनु स्वाभाविक हो ।

जर्मनीका मूलधारका पार्टीले मतदातालाई उग्र दक्षिणपन्थलाई अस्वीकार गराउन निरन्तर असफल भएका छन् र आइतबार सम्पन्न चुनाव यी पार्टीका लागि परिस्थितिलाई बदल्ने अन्तिम अवसर हुन सक्छ । लोकतान्त्रिक शक्तिहरूले देशको आर्थिक मन्दी, अनिर्णीत आप्रवासन चुनौती र बढ्दो मतदाता असन्तुष्टिलाई सम्बोधन गर्ने उपाय खोज्नैपर्छ । मतदाताहरूलाई केवल भाषण र डर देखाएर होइन, विश्वसनीय समाधानद्वारा मात्र फिर्ता ल्याउन सकिन्छ । यदि यसपटक जर्मनीका ‘स्थापित’ दल असफल भए भने उनीहरू धेरै समयसम्म संस्थापनमा रहनेछैनन् ।

(ब्रोनिङ लेखक एवं जर्मनीको सोसल डेमोक्रेटिक पार्टीसँग आबद्ध नेता हुन्)  प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार