पाथीभरामा केबलकार निर्माणबारे विवाद समाधानका लागि वर्ता गर्न सांसदहरूले माग गरेका छन् । आइतबारको संसद् बैठकमा उनीहरूले त्यस्तो माग गरेका हुन् ।
एमाले सचिव योगेश भट्टराईले ऐन–कानुनअनुसार निजी क्षेत्रबाट निर्माण हुन लागेको पाथीभरा केबलकारलाई विकासविरोधीले धर्मसंस्कृतिलाई व्यक्तिगत र राजनीतिक स्वार्थमा उपयोग गरेर विवादित बनाएको टिप्पणी गरेका छन् ।
‘विरोधी समूहको मसाल जुलुसले सर्वसाधारणको घरमा आगो फाल्ने काम भएको, सुरक्षाकर्मीमाथि सांघातिक हमला भएर घाइते भएका छन् । यो परिस्थिति उत्पन्न हुनु दुःखद छ,’ उनले भने । माओवादीका रामकुमार राईले पाथीभरा संरक्षित क्षेत्रको जग्गा कसरी निजी क्षेत्रलाई दिइयो भन्दै सरकारसँग जवाफ माग गरे । उनले ताप्लेजुङमा निषेधाज्ञा जारी गरिएकोमा आपत्ति जनाउँदै वार्ताद्वारा समाधान गर्न माग गरे ।
रास्वपाकी तोसिमा कार्कीले वर्षाैँदेखि पाथीभरामा केबलकार निर्माण आयोजना विवादित रहेको भन्दै राज्यको अकर्मण्यताका कारण नागरिक विभाजित भएर लडाइँमा रहेको र कफ्र्यु लगाइरहेको सरकारले उचित निकास दिन नसकेको बताइन् । आयोजना निर्माण विवादरहित बनाउने दायित्व आयोजक समिति र राज्यको भए पनि भएका सहमतिसमेत उल्लंघन गरेर सरकार पेलेर जान खोज्नु दुःखद भएको बताइन् । भइरहेको निर्माणलाई तत्काल रोकेर सरोकारवाला, आन्दोलनरत पक्ष, आयोजक पक्ष र नागरिकसँग संवाद गरेर वार्ताबाट समाधान गर्न उनले माग गरिन् ।
राप्रपाका राजेन्द्र लिङ्देनले व्यापारिक स्वार्थका लागि भाइ–भाइ लडाउने काम भइरहेको बताए । यसमा दलहरू, मानव अधिकार आयोग र नागरिक समाजले अनदेखा गरेकोमा उनले असन्तुष्टि जनाए । ‘किन मन्त्रीस्तरको वार्ता गर्न सरकार तयार छैन, किन भाइ–भाइ लडाइरहेको छ, के त्यहाँ मान्छे मरेपछि मात्र वार्ता गर्ने हो ?’ उनले सोधे । ‘अहिलेकै प्रधानमन्त्री भएको वेला कञ्चनजंगा क्षेत्रबाट पाथीभरालाई अलग गरियो, लगत्तै व्यापारीलाई त्यहाँ केबलकार बनाउन जिम्मा दिने निर्णय गरियो । र, आज त्यहाँ जनताले प्रतिरोध, विरोध गरिराखेका छन् । सारा राज्यशक्ति लगाएर दमन गरेर केबलकार निर्माण गर्ने कार्य भइरहेको छ । यो काम अविलम्ब रोकियोस् । यो कसैको हितमा छैन । अशान्त वातावरणलाई शान्त बनाउने उपाय भनेको केबलकार स्थगन गर्ने हो,’ उनले भने ।
फुङलिङमा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सदरमुकाम फुङलिङ बजारमा निषेधाज्ञा जारी गरेको छ । फुङलिङ क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिका कारण आइतबारदेखि निषेधाज्ञा जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी निषेधाज्ञाअनुसार फुङलिङ नगरपालिकाको पूर्वमा वडा नम्बर ७ सल्लेरी, पश्चिममा फुङलिङ नगरपालिका– ७ को घोडेचौर (थलङधारा क्षेत्र) सम्म, उत्तरमा फुङलिङ नगरपालिका– ४ उकालीपानी र दक्षिणमा नगरपालिका– ६ शेर्पा टोल (भेटनरी कञ्जनवंघा टोल) सम्म विरोध प्रदर्शन गर्न पाइनेछैन । यस्तै, पाथीभराको तल्लोफेदी अर्थात् काफ्लेपाटीमा पनि निषेधाज्ञा जारी गरिएको छ ।
काफ्लेपाटी बलुडाँडा क्षेत्रको पूर्व पर्यटक भवनको सय मिटर, पश्चिममा बलुडाँडा डडेली इलाका, उत्तरमा केबलकार बेसस्टेसन/पानीको मुहान इलाकाको सय मिटर र दक्षिणमा नयाँ बसपार्क इलाकाको सय मिटर (जंगल इलाकासमेतमा)मा कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।