‘बी’ डिभिजन लिगको तयारी गरिरहेको झापाको सानदार जित

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

सहिद स्मारक ‘बी’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन क्लबको च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराएको छ । शनिबार मेची रंगशालामा भएको भइरहेको भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा झापाले चर्च ब्वाइजलाई पराजित गर्दै लिगको तयारी उत्कृष्ट रहेको सन्देश दिएको छ । सेमिफाइनलमा पुग्ने क्रममा झापालाई जिताउन एरोन थापा र कप्तान पेमा तामाङले समान एक गोल गरे । 

चर्च ब्वाइजको तर्फबाट विक्रम धिमालले एक गोल फर्काए । दोस्रो संस्करणमा सेमिफाइनलमा प्रवेश गर्ने झापा दोस्रो टिम बन्यो । यसअघि आयोजक भद्रपुर ब्लेजर्स पनि अन्तिम चारमा स्थान बनाएको छ । झापाले चर्च ब्वाइजलाई पछिल्लो एक महिनामा दोस्रोपटक हराएको हो । 

८ माघमा भारतको सिक्किममा भएको १०औँ अल इन्डिया चिफ मिनिस्टर गोल्डकपको फाइनलमा पनि झापाले चर्च ब्वाइजलाई हराउँदै २० लाख भारतीय रुपैयाँ हात पारेको थियो । आइतबारको तेस्रो क्वार्टरफाइनलमा न्युरोड टिम (एनआरटी) र बंगलादेशको काउरन बाजार प्रगति संघबिच खेल हुनेछ । 

लिगअघि लयमा झापा
सहिद स्मारक बी डिभिजन लिग खेल्ने तयारीमा रहेको झापा पछिल्लो समय उत्कृष्ट लयमा देखिएको छ । बी डिभिजनको तयारीस्वरूप खेलिरहेको झापाले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । झापाले भद्रपुरमै लिग च्याम्पियन चर्च ब्वाइज र उपविजेता मच्छिन्द्रलाई पराजित गरिसकेको छ । कुनै समयको मोफसलको सर्वाधिक सफल क्लब झापा–११ केही सयम सुस्ताएको थियो । 

तर, पछिल्लो समय झापाले पुनः आफ्नो पुरानो विरासत फर्काउने लक्षण देखाएको छ । बी डिभिजनका लागि तयार पारिएको ‘सेट’ टिमले पछिल्लो समय निकै राम्रो खेल प्रदर्शन गर्दै आएको छ । खेलमा सुरुवाती अग्रता झापाले नै गरेको थियो । खेलको १४औँ मिनेटमा चर्च ब्वाइजका डिफेन्डर र गोलकिपर कृशल मोक्तानको गल्तीमा झापाका एरोनले गोल गरे । एरोनले मैदानको मध्यभागबाट बल अघि बढाउँदै करिब २५ यार्ड टाडाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । तर, खेलको ४१औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीले चर्च ब्वाइजका सुजन डंगोललाई फाउल गरेपछि पाएको फ्रिकिकमार्फत चर्च ब्वाइजले गोल गरेको थियो । 

करिब ३० यार्डबाट चर्च ब्वाइजका कप्तान एरिक विष्टले प्रहार गरेको फ्रिकिकलाई सदुपयोग गर्दै विक्रमले गोल गरे । खेलको ७९औँ मिनेटमा झापाले दोस्रो गोल गर्दै जित निश्चित गर्यो । मैदानको मध्यभागबाट आएको बललाई क्लियर गर्न अघि बढेका चर्च ब्वाइजका गोलकिपर कृशलले पञ्च गरेको बलमा करिब १८ यार्डमा रहेका झापाका कप्तान पेमाको प्रहार गोलमा परिणत भयो । घरेलु दर्शकको राम्रो साथ पाएको झापासामु लिग विजेता चर्च ब्वाइज कमजोर देखियो । चर्च ब्वाइजका कप्तान अनन्त तामाङ, रोहन कार्की, समीर तामाङजस्ता खेलाडी एनएसएलका लागि विभिन्न क्लबको मार्की खेलाडी भएर जाँदा उनीहरूको अभाव टिममा देखिएको छ । यसको फाइदा झापाले उठाएको हो । खेलभरि चर्च ब्वाइजले खासै आक्रमण बुन्न सकेन । झापाले भने दर्जनभन्दा बढी आक्रमण विपक्षी टिमको पोस्टमा गर्यो ।

सेट टिमले सहज भयो : अंगुरकुमार  खड्गी प्रशिक्षक, झापा–११ 
यी खेलाडीले सँगै खेलेको पनि धेरै भइसक्यो । सेट टिम हुँदा ठुला क्लबसँग पनि हामीलाई खेल्न सहज भएको छ । योभन्दा अघि मच्छिन्द्रसँगको खेलमा पनि त्यस्तै भयो । बाहिरको खेलाडी ल्याएर थप्ने हो भने सायद खेल यस्तो राम्रो हुने थिएन । खेलाडीसँग व्यवस्थापनको ठुलो अपेक्षा छ । व्यवस्थापनले केही अभाव हुन दिएको छैन । हामी क्लबको अपेक्षा पूरा गर्न लागिरहेका छौँ । सेमिफाइनलमा पनि हामी राम्रो खेल प्रदर्शन गर्छौँ ।

खेल जुध्दा हामीलाई समस्या भएको छ :सविन डाँगी  , ब्यवस्थापक, चर्च ब्वाइज 
धेरै खेल जुधेका कारण हामीलाई समस्या भएको छ । मुख्य टिम हेटौँडामा छ । शुक्रबार हेटौँडामा खेल थियो । शनिबार झापामा हुँदा सबै खेलाडी उतार्न नसक्नु र एनएसएलको अक्सनका कारण पनि समस्यामा परेको छ । अहिले क्लबलाई जताततै खेल जुधाउँदा नतिजामा समस्या आएको छ । हामीले यहाँ हाम्रो पूरा टिम ल्याउन सकेनौँ । प्रतियोगिता जुध्दा खेलाडी संकलन गरेर खेलाउनुपर्ने भयो । त्यसले नतिजामा समस्या ल्यायो । 

सुझावित समाचार