नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सरकार दुईदलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही लाद्न अग्रसर भएको आरोप लगाएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले साना दल र प्रतिद्वन्द्वी दलहरूलाई समाप्त पार्न वर्तमान सरकार लागिपरेको टिप्पणी गरे।
‘हाम्रो देशमा जुन सरकार अहिले शासन सञ्चालन गरिरहेको छ, त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुईदलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको छ। दुईदलीयको नाममा एकदलीय तानाशाही लाद्ने सोचभन्दा त्यो भिन्न छैन,’ उनले भने।
देश र जनताका समस्या बेवास्ता गरिरहेको सरकार आलोचकको घाँटी निमोठ्न लागेको अध्यक्ष नेपालको आरोप छ। ‘संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरू कानुन मिच्न पनि त्यत्तिकै अग्रसर भएका छन्। संसद्को नियमावली मिच्नेदेखि लिएर विधानलाई बेवास्ता गर्ने काम गररहेका छन्,’ उनले भने।
आफ्नो पार्टी एमाले र माओवादीसँग मिल्न लागेको भन्ने कुप्रचारहरू भइरहेका भन्दै नेपालले त्यसप्रति पनि आपत्ति जनाए।