आयोजक भद्रपुर ब्लेजर्सले दोस्रो भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा दार्जिलिङ पुलिसमाथि ४–३ को कठिन जित निकालेको छ । जितसँगै भद्रपुर क्वार्टरफाइनलमा पुगेको छ । बुधबार निर्धारित ९० मिनेटको प्रतिस्पर्धाको पहिलो हाफमा गोलको वर्षा भयो । भद्रपुरको जितमा विदेशी खेलाडी कार्लस, आशिष चापागाईं, सत्यम शर्मा र प्रताप राईले एक–एक गोल गरे । दार्जिलिङका प्रशान्त राई, नयन प्रधान र रुड गुलितले गोल फर्काए ।
खेलको तेस्रो मिनेटमा भद्रपुरका कप्तान आशिषले निकालेको क्रसमा पोस्टभन्दा २० यार्ड टाढाबाट कार्लसले दोस्रो बारमा गोलरक्षक निगम सिंहलाई छेक्ने मौका नदिई १–० को अग्रता दिलाए । कार्लसले गोल गर्दा दार्जिलिङका डिफेन्डरबिच तालमेल मिलेको थिएन । एक गोलको अग्रतापछि भद्रपुरले रक्षात्मक रणनीति र दार्जिलिङले बल पोसेसन बलियो बनायो । खेलको ३९औँ मिनेटमा भद्रपुरले २–० को अग्रता लियो ।
काउन्टर एट्याक्टमा भद्रपुरका स्टाइकर मिलन राइले दोस्रो बार च्याप्दै प्रहार गरे । उनको प्रहार दार्जिलिङका गोलरक्षक निगमले ग्रिपमा लिन सकेनन् । गोलरक्षकबाट रिबाउन्ड भएको बललाई कप्तान आशिषले उत्कृष्ट फिनिसिङ गरे । दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो । यस समयमा समग्रमा पाँच गोल भएको थियो । दोस्रो हाफको सुरुवातमै भद्रपुरले ३–० को अग्रता बनायो । सत्यमले चालखीपूर्ण रूपमा विपक्षी डिफेन्डरबाट बल खोस्दै गोलरक्षक निगमविरुद्ध वान भर्सेस वानमा गोल गर्न सफल भए ।
तीन गोलको अग्रता लिँदासम्म भद्रपुरका खेलाडीबिच तालमेल खासै मिलेको थिएन । तर, प्राप्त अवसरमा गोल गर्न सफल भएका थिए । घरेलु मैदानमा दर्शकको साथ पाएको भद्रपुरका खेलाडीले फिजिकल खेल र दार्जिलिङले दोस्रो हाफमा रणनीतिक खेल खेल्यो । दरिलो अग्रता बनाएपछि भद्रपुरका खेलाडीले तालमेल बिगार्दै लगे । जसका कारण २० मिनेटको अन्तरमा दार्जिलिङले तीन गोल गर्दै खेल ३–३ को स्थितिमा पुर्यायो ।
दार्जिलिङको उत्कृष्ट कमब्याक
खेलको ५०औँ मिनेटमा भद्रपुरका डिफेन्डरको गल्तीमा दार्जिलिङका प्रशान्तले ३–१ का लागि गोल गरे । उनले डिबक्सभित्र प्राप्त पासलाई दोस्रो बारमा गोल गरेका हुन् । खेलको ५५औँ मिनेटमा दार्जिलिङका नयनले अनमार्कको फाइदामा ३–२ को गोल अन्तर बनाए । खेलको ७०औँ मिनेटमा दार्जिलिङ ३–३ को बराबरीमा पुग्यो । मैदानको मध्य भागबाट एकल प्रयासमा रुडले उत्कृष्ट फिनिसिङ गर्दै खेललाई बराबरीमा पुर्याए । खेलको ८२औँ मिनेटमा भद्रपुरका प्रतापले आयोजकलाई ४–३ को कठिन जित दिलाए । विस्थापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनी सहजै गोल गर्न सफल भए । पहिलो खेलमा भद्रपुरका कप्तान आशिषले म्यान अफ दी म्याच हुँदै २१ हजार रुपैयाँ हात पारे ।