विवाहका लागि कोटपाइन्ट लिन गएका बेहुला साइत बित्दा पनि फर्किएनन्

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

विवाहमा लगाउने कोटपाइन्ट लिन भनेर धनगढी बजार गएका कञ्चनपुर लालझाडी गाउँपालिका–४ का एक बेहुला विवाहको दिन बितिसक्दा पनि नफर्किएपछि दुवैतर्फको परिवार चिन्तित बनेको छ। ४ फागुनमा लालझाडी गाँउपालिका–४, पर्सियाका दीपराज रानाको विवाह शुक्लाफाँटा नगरपालिका–६, कसरौलकी सुमित्रा रानासँग हुने तय भएको थियो। राना ३० माघमा कोटपाइन्ट लिन भन्दै धनगढी बजार गएका थिए। तर, अझैसम्म नफर्किएपछि विवाह स्थगित मात्रै भएको छैन परिवारमा चिन्तासमेत बढेको छ। 

बेहुलाका दाजु लोकराज रानाले बेहुला(भाइ) नै गायब भएपछि विवाह रोकिएको बताए। उनले भाइको विवाह गर्न केही महिनाअघि मात्रै मग्नी गरेको बताए। ‘विवाहका दिन लगाउने कोट किन्छु, भन्दै धनगढी हिँडेका भाइ (बेहुला) गायब भएपछि विवाह नै स्थगित गरेका छौँ,’ उनले भने, ‘विवाहभन्दा पनि मानिस नै गायब भएपछि खोजी गर्नुपर्ने बाध्यता आएको छ। भाइ आजसम्म पनि सम्पर्कमा आएका छैनन्, हामी चिन्तित भएका छौँ।’ उनले विवाहको तयारीका लागि कार्ड छपाइदेखिका आवश्यक सबै काम तयारीकै मुखमा भाइ सम्पर्कविहीन भएपछि ठुलो पिर परेको बताए। 

परिवारले दीपराजको खोजबिनका लागि कञ्चनपुर, कैलाली दुवै जिल्लाका प्रहरी कार्यालयमा निवेदन दिएका छन्। बेहुला नै गायब भएपछि विवाहका लागि गरिएको तयारी खेर गएको छ। दुवै परिवारमा सन्नाटा छाएको छ। उनीलाई कसैको अपहरण, हत्या वा स्वयं गायब भएकोबारे अझैसम्म पनि अनविज्ञता छ। प्रहरीले बेपत्ता भएका दीपराजको खोजी जारी रहेको जनाएको छ। वैदेशिक रोजगारीबाट घर फर्किका राना धार्मिक परम्पराअनुसार वैवाहिक जीवनमा बाँधिन लागेका थिए। 

सुझावित समाचार