कपिलवस्तु जिल्ला अदालतका तहसिलदार र कम्प्युटर अपरेटर भ्रष्टाचार मुद्दामा दाेषी ठहर

दुवै जनालाई जनही १०–१० हजार रुपैयाँ जरिवाना, कैदकाे फैसला

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुस लिई भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले सोमबार उनीहरूलाई सजायसमेत सुनाएको छ। 

तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयलाई सजाय सुनाइएको हो। गत २१ मंसिरमा दायर यस मुद्दामा दोषी ठहर हुने फैसला भएको छ। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो। 

विशेषका अनुसार घुस रकम २० हजार रुपैयाँ रहेकोले उक्त रकम बिगो कायम गर्दै उक्त रकम जफत तथा दुवैजनालाई जनही १०–१० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ। यसैगरी, तहसिलदार मिश्रलाई दुई महिना र पाण्डेयलाई एक महिना कैद सजायसमेत सुनाइएको छ। 

अपराधपीडित संरक्षण ऐनअनुसार दुवै प्रतिवादीबाट जनही चार सय रुपैयाँ क्षतिपूर्तिबापत पीडित राहत कोषमा भराउनसमेत अदालतले आदेश दिएको छ। मिश्र र पाण्डेय २० हजार घुसका साथ पक्राउ परेका थिए। 

अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा दुई महिनापछि फैसला आएको हो। सेवाग्राहीसँग फैसला कार्यान्वयनका क्रममा भएको बन्डा मुचुल्का बदर गरिदिने भनी उनीहरूले घुस मागेको खुलेको थियो। यस तथ्यलाई साबित गर्ने अडियोसमेत संलग्न प्रमाण अख्तियारले अदालतमा पेस गरेको थियो।
 

सुझावित समाचार