नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना दलले निकास दिन नसक्ने दाबी गरेका छन् । आइतबार राजधानीमा सुरु भएको नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले विद्यमान राजनीतिक शक्तिहरूले देशलाई दिगो र अग्रगामी विकल्प दिन नसक्ने निष्कर्ष निकालेका हुन् ।
‘नयाँ युगको नयाँ कार्यभार’ पूरा गर्न वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता रहेको उनले औँल्याएका छन् । भट्टराईले पटक–पटक सत्ताको नेतृत्व गर्दा पनि कांग्रेसले देश र समाजलाई गुणात्मक रूपान्तरण गर्न नसकेको दाबी गरेका छन् । कांग्रेसबाट नयाँ कार्यभार पूरा हुन नसक्ने निचोड उनको छ । ‘बरु यसका नेताहरू सधैँ कुनै न कुनै भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेका छन् । देशका गम्भीर प्रकृतिका अर्थ–राजनीतिक समस्या र नयाँ युगको नयाँ कार्यभार यो ऐतिहासिक रूपले पुरानो भइसकेको राजनीतिक धार र शक्तिबाट पूरा हुन असम्भव छ,’ उनले भनेका छन् ।
भट्टराईले एमाले र माओवादी एकै प्रकृतिको भएको निष्कर्ष निकालेका छन् । यी दुवै दल यथास्थितिमा टिक्न नसक्ने ठहर उनको छ । एमाले र माओवादीमा कुनै तात्विक अन्तर नभएको उनको दाबी छ । देशव्यापी रूपमा कम्युनिस्ट जनमत भए पनि नयाँ पुस्ताको आकांक्षा कम्युनिस्ट शक्तिहरूबाट सम्भव नहुने निष्कर्ष भट्टराईको छ ।
भट्टराईले नयाँ शक्ति आउनु सकारात्मक रहेको विश्लेषण गरेका छन् । ०७२ मा संविधान जारी भएपछि नयाँ शक्ति अभियान सुरु भएको र त्यो नेसपा (नयाँ शक्ति)को रूपमा रहेको उनको दाबी छ । त्यसपछिका चरणमा विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत उदाएको भट्टराईले उल्लेख गरेका छन् । नयाँ भनेर आएकामा अझै थुप्रै पाटामा स्पष्ट हुन बाँकी रहेको उनको विश्लेषण छ ।