३८ युट्युब च्यानलमाथि कारबाही गर्न पत्राचार

बिहिबार, २४ माघ, २०८१
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालले ३८ युट्युब च्यानललाई कारबाही गरेको छ । झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित ज्येष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरसमेत राखी सम्प्रेषण गर्ने युट्युबहरूलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ ।

घटनालाई अतिरञ्जित गराई पीडित परिवारलाई अमर्यादित प्रश्न सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिई भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाई सामग्री सम्प्रेषण भएपछि कारबाही गरिएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता गम्भीर उल्लंघन गरेका, तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ,’ काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले युट्युब तथा फेसबुकबाट सम्प्रेषण भएका पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने त्यस्ता सामग्री हटाउन भनेको छ । ‘आरोप र शंकाकै आधारमा आफैँ अदालतझैँ गरी अप्रमाणित विषयलाई दोषी करार गर्ने, वैयक्तिक गोपनीयता प्रतिकूल हुने, महिला/ज्येष्ठ नागरिक/बालबालिकाको आत्मसम्मानमा आँच पुर्याउने सामग्री क्षमायाचनासहित हटाउन प्रेस काउन्सिल नेपाल सम्बद्ध सबैमा आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सुझावित समाचार