कञ्चनपुरको उत्तरी ग्रामीण भेगको उच्च शिक्षाको विकासका लागि महायज्ञ सञ्चालन गरिएको छ।भीमदत्त नगरपालिका- १०, जिमुवामा रहेको दानेश्वर बहुमुखी क्याम्पसको विकासका लागि बिहीबारदेखि महायज्ञ सञ्चालन गरिएको हो।
क्याम्पस व्यवस्थापन समितिले आर्थिक सहयोग संकलनका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरेको आयोजकले जनाएको छ। दानेश्वर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण भट्टले क्याम्पसमा स्रोत जुटाउनका लागि महायज्ञ सञ्चालन गरिएको बताए। उनका अनुसार विद्यालयमा स्रोत नहुँदा सञ्चालनमा समस्या भएकाले नागरिकस्तरबाटै स्रोत वृद्धिका लागि यज्ञमार्फत अघि बढिरहेको बताए।
देशका तीन सरकार भए पनि कुनै पनि सरकारबाट सहयोग नपाएपछि बाध्य भएर यज्ञ सञ्चालन गर्नुपरेको उनको दुखेसो छ। त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसमा स्रोत वृद्धि भएसँगै ग्रामीण भेगका विपन्न समुदायका विद्यार्थीलाई गाउँघर आँगनमै उच्च शिक्षा दिलाउने उद्देश्य रहेको उनले बताए। उक्त क्याम्पसको सस्थागत विकास भए भीनपा ८, ९ र १० तीन वडाका विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन्।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जगत गुरुले महायज्ञमार्फत धार्मिक संस्कृति संकारका साथै शिक्षाको विकासमा टेवा पुग्ने बताए। जगत गुरुले सामाजिक सद्भाव एकता लागिसमेत धार्मिक महासंघ आवश्यक रहेको औँल्याएका छन्। उद्घाटनकै दिन गाउँमा कलशयात्रा गरिएको छ।
सात दिनसम्म सञ्चालन हुने महायज्ञमा आचार्यद्वय भाष्कर पन्त, राधवप्रसाद भट्ट, पण्डित गणेश जीसहितले प्रवचन दिने कार्यक्रम रहेको छ। राष्ट्रिय उद्घोषक पुष्पराज भट्टसहितले सञ्चालन गर्ने कार्यक्रममा हरेक दिन आरती, सांस्कृतिक झाँकी हुनेछन्।