सरकारी दमक अस्पतालबाट रेफर गरिने प्रसूतिका आधा बिरामी पठाइन्छन् मेयर थापाको निजी अस्पतालमा

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

दमक अस्पतालले रेफर गरेपछि मात्रै निजीले स्वास्थ्य बिमाबाट उपचार गर्न पाउँछन्, दमकले रेफर गर्ने प्रसूतिका आधा बिरामी मेयर थापा नै सञ्चालक रहेको ॐ मेची अस्पतालमा पठाउँछ

रामकुमार थापा झापाको दमक नगरपालिकाका मेयर मात्र होइनन्, सरकारी तवरबाट सञ्चालित दमक अस्पतालका अध्यक्षसमेत हुन् । यति मात्रै होइन, उनी दमकमै रहेको निजी अस्पताल ॐ मेचीको सञ्चालक पनि हुन् । मेयर थापाको पदीय शक्तिको आडमा दमक अस्पतालले बिमाबाट उपचारका लागि रेफर गर्ने प्रसूतिका आधा बिरामी ॐ मेचीमा पठाउने गरेको छ । दमक अस्पतालले रेफर गरेपछि मात्रै निजी अस्पतालले स्वास्थ्य बिमाबाट उपचार गर्न पाउँछन् । 

दमक अस्पतालबाट रेफर हुने आधाभन्दा बढी प्रसूतिका बिरामी मेयर थापाको निजी अस्पतालमा पठाइएको तथ्यांकले नै देखाएको छ । दमक अस्पतालले सेवा दिएभन्दा बढी प्रसूतिका बिरामी रेफर गर्छ । मेयर थापा सञ्चालक रहेको ॐ मेचीमा पनि स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ ।  

गत आर्थिक वर्ष ०८०/८१ मा दमक अस्पतालले ९५५ जनालाई प्रसूति गराएको छ । त्यस्तै, उक्त आर्थिक वर्षमा एक हजार १५६ जना प्रसूति गराउने बिरामी विभिन्न अस्पतालमा रेफर गरेको छ । रेफर गरेकामा आधाभन्दा बढी मेयर थापाको निजी अस्पताल ॐ मेचीमा पठाइएको छ । एक वर्षमा ७५१ जना प्रसूति गराउने बिरामी ॐ मेचीमा पठाएको दमक अस्पतालले उपलब्ध गराएको तथ्यांकमा छ । 

जबकि दमकमा अर्को सामुदायिक अस्पताल आम्दा अस्पताल पनि छ । उक्त अस्पताल प्रसूति सेवाका लागि पूर्वमा प्रख्यात मानिन्छ । जुन अस्पतालको पदेन अध्यक्ष दमक नगरपालिकाको मेयर रहने व्यवस्था छ । गत आर्थिक वर्षमा उक्त अस्पतालमा १४९ जना मात्र बिरामी दमक अस्पतालले पठाएको देखिन्छ । यो अस्पतालमा विशेषज्ञ चिकित्सकसहित आइसियू तथा एनआइसियू सेवासमेत छ । मेयर थापा सञ्चालक रहेको निजी अस्पतालमा आइसियू तथा एनआइसियू सेवा छैन । जीर्ण संरचनामा यो अस्पताल चलिरहेको छ । 

चालू आर्थिक वर्षको तथ्यांकमा पनि सबैभन्दा बढी ॐ मेची अस्पतालमै प्रसूति गराउने बिरामी छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्म दमक अस्पतालले २१५ जना प्रसूति गराउने बिरामी रेफर गरेको छ । जसमा सबैभन्दा बढी ५० जना मेयर थापाको अस्पताल ॐ मेचीमा पठाएको तथ्यांकले देखाउँछ ।

अस्पताल स्रोतका अनुसार गत आर्थिक वर्षमा प्रसूति गराउनेको रेफरमा केही दबाब आएको थियो । तर, यस वर्ष प्रसूति तथा स्त्रीरोग विशेषज्ञसमेत रहेका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले कडाइ गर्न थालेको स्रोतले जनाएको छ । जसको परिणामस्वरूप चालू आर्थिक वर्षको ६ महिनामा ६४६ जनालाई दमक अस्पतालले नै प्रसूति गराएको छ । त्यसको आधाभन्दा कम २१५ जना मात्र रेफर गरेको छ ।

दमक नगरपालिकाको स्वास्थ्य नियमावली, २०७७ ले नगरभित्र रहेका स्वास्थ्य संस्था (अस्पताल, नर्सिङ होम, क्लिनिक, प्रयोगशाला सेवा, औषधि पसल)समेतको गुणस्तरको अनुगमनको अधिकार पालिकालाई दिएको छ । तर, दमककै मेयर रामकुमार थापा जनप्रतिनिधि मात्र होइन, आफ्नै पालिकाभित्र (वडा नम्बर ७ मा) रहेको २५ बेडको ॐ मेची हस्पिटलका सञ्चालक हुन् । उनी दमक नगरपालिकाकै स्वामित्वमा रहेको १५ बेडको दमक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।

ॐ मेची अस्पताल प्रशासनका अनुसार त्यहाँ मेयर थापाको १० प्रतिशत लगानी छ । डा. निरञ्जनसिंह बोगटी ॐ मेचीका अध्यक्ष हुन् । उनी दमक अस्पतालको अध्यक्ष हुनेबित्तिकै नयाँ पत्रिका दैनिकले १८ चैत ०७९ मा निजीका सञ्चालक भएका कारण स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै समाचार प्रकाशन गरेको थियो । पछिल्लो आर्थिक वर्षको तथ्यांकले मेयर थापाको पनि स्वार्थको द्वन्द्वलाई पुष्टि गरेको छ । नेपालमा स्वार्थको द्वन्द्व व्यवस्थापनसम्बन्धी छुट्टै कानुन त छैन । यद्यपि, सुशासन व्यवस्थापन ऐन, २०६३ को दफा १८ ले ‘... निजको एकासगोलको व्यक्तिले सञ्चालन गरेको व्यापार, व्यवसायमा प्रत्यक्ष फाइदा पुग्ने गरी स्वार्थ बाझिने भएमा त्यस्तो पदाधिकारीले त्यस्तो विषयमा निर्णय गर्न सक्ने छैन’ भनिएको छ । मेयर थापाले अस्पतालको अध्यक्ष बसेर बिरामी निजी अस्पतालमा पठाएको तथ्यांकले उनको कामकारबाहीमा अनियमितता देखिने पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्री भट्टराई बताउँछन् । ‘यस्तो कामले नगर प्रमुखमाथि नैतिक प्रश्न उठ्छ । यो स्वार्थको द्वन्द्व हो । यस्ता कामले नगर प्रमुखले आफ्नो फाइदा लिन खोजेको देखिन्छ,’ उनले भने, ‘यो गर्न नमिल्ने काम हो । अनियमितताजन्य काम हो ।’

दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले गत आर्थिक वर्षमा विशेषज्ञ चिकित्सकले नभई अरूले पनि रेफर गर्न मिल्ने प्रणाली भएकाले धेरै बिरामी रेफर भएको बताए । उनले चालू आर्थिक वर्षदेखि विशेषज्ञ चिकित्सकले मात्र रेफर गर्ने प्रणाली विकास गरेका कारण कम रेफर भएको बताए । ‘गत आर्थिक वर्षमा जसले पनि रेफर गर्न मिल्थ्यो । विशेषज्ञलाई नदेखाई रेफर गर्दा लुप होल धेरै थिए । यस वर्षदेखि हामीले विशेषज्ञले मात्र गर्ने प्रणाली विकास गरेका छौँ । अघिल्लो वर्ष प्रसूति तथा स्त्रीरोग विशेषज्ञ म मात्र थिएँ । अहिले दुईजना छौँ । बेड संख्या पनि बढाएका छौँ,’ उनले भने, ‘ॐ मेचीमा चाहिँ पुराना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. शंकरप्रसाद हुजदार भएकाले पनि जान खोज्छन् । पहिला रेफर मागेपछि दिने चलनले गर्दा धेरै गएको हुन सक्छ ।’

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले भने आफ्नो निजी अस्पतालमा बिरामी पठाउन दबाब नदिएको दाबी गरे । बिरामीलाई रेफर गर्ने विषयमा आफूलाई जानकारीसमेत नहुने उनको भनाइ छ । ‘ॐ मेचीमा कुरा आएको छ, त्यो गलत हो । बिरामी आफैँ रेफर माग्न आएपछि मात्रै रेफर दिइन्छ,’ उनले भने, ‘हुन सक्नेसम्म यहीँ (दमक अस्पताल) गर्नुहोस् भन्ने हो । रेफरको कुरा मलाई जानकारीसम्म हुँदैन ।’
 

See More On

सुझावित समाचार