वीर अस्पतालमा वर्षौँदेखि थन्किएका कबाड सामान डेढ करोडभन्दा बढी रुपैयाँमा लिलाम भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका, वीर अस्पताल, नेपाल प्रहरीलगायतसहितको सहभागितामा एक साताअघि बसेको लिलाम समितिको बैठकले कबाड तथा काम नलाग्ने सामान लिलामी गर्ने निर्णय गरेको थियो । सोहीअनुसार पाँच दिनदेखि ठेकेदार कम्पनीले कबाड सामान उठाउन थालेको छ । ठेकेदार कम्पनीले यथास्थानमै सामान टुक्र्याएर लैजाने भएकाले सबै सामान उठाउन अझै एक साता लाग्नेछ । २८ वर्षदेखि अस्पतालमा कबाड सामान थन्किएका थिए । ती सामानले अस्पतालको स्टोर रुमअगाडिको करिब एक रोपनी क्षेत्रफल ओगटेको छ । अब भने उक्त ठाउँ खाली हुनेछ ।
कबाड लिलाम गर्न अस्पताल प्रशासनले चारपटकसम्म टेन्डर आह्वान गरेको थियो । पहिलोपटक ११ भदौ ०८०, दोस्रोपटक ११ असोज ०८०, तेस्रोपटक २१ कात्तिक ०८० र चौथोपटक १२ मंसिर ०८० मा टेन्डर आह्वानसम्बन्धी सूचना जारी गरिएको थियो । कसैले पनि निवेदन नदिएपछि यी सामानको व्यवस्थापनमा अस्पताल प्रशासनको टाउको दुखाइ बनेको थियो । टेन्डर हाल्न कोही नआएपछि अस्पतालले फरक जुक्ति लगायो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा लिलामीसम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीको बुँदा नम्बर १०६ अनुसार टेन्डर प्रक्रियाबाट सामान बिक्री हुन नसके कार्यालय प्रमुखले कोष तथा लेखानियन्त्रकको कार्यालयको प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधिको रोहवरमा वार्ताद्वारा लिलाम कबोल रकम कायम गरी सोझै बिक्री गर्न सक्छ । यही प्रक्रियाअनुसार अस्पताल प्रशासनले वार्ताबाट सामान लिलाम गर्ने निर्णय गरेको हो ।
एक साताअघि राखिएको बैठकमा कबाड सामान किन्न इच्छुक १६ कम्पनीका प्रतिनिधि सहभागी थिए । सबैजसोले ८० लाखदेखि एक करोडसम्ममा सामान लिने बताएका थिए । तर, अस्पताल प्रशासन र लिलाम समिति उक्त मूल्यमा लिलाम गर्न तयार भएन । बार्गेनिङ गर्दै जाँदा भ्याटसहित एक करोड ६१ लाखमा सामान खरिद गर्ने सहमति भएको थियो । सोही आधारमा भोजबहादुर मगर आफ्नो कम्पनीका लागि कबाड सामान खरिद गर्न तयार भएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार लिलाम प्रक्रियामा दररेट नमिल्दा झन्झट भएको थियो । तर, अस्पतालको स्टोर र मेडिकल स्टोरसामुन्ने कबाड सामान थुप्रिँदै गएपछि यसपटक लिलाम गरेरै छाडेको डा. पौडेलले बताए । ‘वर्षौँदेखि कबाड सामान डम्पिङ भएर बसेका थिए । अस्पतालले मर्मतसम्भार गरेर पनि चलाउन नसक्ने भएपछि ती सामान लिलाम गरेका हौँ,’ उनले भने, ‘लिलाम गर्नका लागि यसअघि कैयौँ प्रयास भए पनि सकिएको थिएन, तर यसपटक सबै पक्षसँग समन्वय गरेर लिलाम गरियो, यसले अस्पताललाई आम्दानी पनि भएको छ ।’
उनका अनुसार यहाँ २८ वर्षदेखिका कबाड सामान थन्किएका थिए । जसमा फर्निचरदेखि, सिटिस्क्यान मेसिन, कम्प्युटरलगायत थुप्रै उपकरण छन् । ती कबाड सामान करिब १० ट्रकभन्दा बढी छ । लिलाम समितिले कुन–कुन सामान लिलाम गर्ने भन्नेबारे प्रत्यक्ष अवलोकनसमेत गरेर निर्णय गरेको हो । सामान खरिद गर्न तयार रहेका मगरले २० लाख रुपैयाँ अस्पताललाई बुझाइसकेका छन् । बाँकी रकम सामान उठाएर सक्दासम्म चुक्ता गर्ने सहमति भएको छ ।