एन्फा महिला लिगको फाइनल आज, अपराजित एपिएफको सामना गर्दै पुलिस

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

दुई विभागीय टोली नेपाल एपिएफ र नेपाल पुलिस क्लबले बुधबार एन्फा महिला लिग फुटबलको उपाधिका लागि दशरथ रंगशालामा भिड्दै छन् । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक महिला लिगमा प्लेअफ अवधारणा प्रणाली लागू गरेको हो । लिगमा एपिएफ अपराजित रही शीर्ष स्थानमा रह्यो । आर्मी दोस्रो, पुलिस तेस्रो र बागमती युथ क्लब चौथो भएका थिए । पाँचौँ स्थानमा रहेको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएको थियो ।

त्यसपछि शीर्ष चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गरे । पहिलो क्वालिफायरमा एपिएफले विभागीय डर्बीमा आर्मीलाई निराश बनाउँदै फाइनल स्थान पक्का ग¥यो । पुलिसले एलिमिनेटरमा बागमती युथ क्लबलाई १–० ले निराश बनाउँदै क्वालिफायर २ मा स्थान पक्का पा¥यो । पहिलो क्वालिफायरमा पराजित आर्मीविरुद्ध पुलिसले प्रतिस्पर्धा ग¥यो । गोलरक्षक उषा नाथले आर्मीका तीन पेनाल्टी छेकेपछि पुलिसले फाइनल स्थान सुरक्षित मात्र गरेन, एपिएफसँग उपाधि भिडन्तसमेत पक्का ग¥यो ।

आर्मी दुवै प्लेअफमा पराजित हुने एक्लो टोली बन्यो । संयोग कस्तो रह्यो भने आर्मीलाई हराएको एपिएफ र पुलिस फाइनल खेल्दै छन् । प्रतियोगिताको पहिलो चरणको शीर्ष पाँच स्थान रक्षा गरेको कोशीले आर्थिक अभावका कारण दोस्रो चरण नखेल्ने घोषणा गरेको थियो । त्यसपछि छैटौँ स्थानमा रहेको बागमती सुपर चरणमा खेल्ने अवसर पाएको हो ।

महिला लिगमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । एकल राउण्डपछि शीर्ष पाँच टोलीले सुपर लिगमा प्रतिस्पर्धा गरेका थिए । सुपर लिग डबल राउन्ड रोबिनका अनुसार भएको थियो । जसमा पाँच टोलीले २० खेल खेले ।

दुई विभागीय टोलीका बिच प्रतिष्ठाको लडाइँ
जहाँ एपिएफ र पुलिसका खेलाडी च्याम्पियन बन्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछन् । त्यहीँ नै दुई विभागीय टोलीले आफू उत्कृष्ट बन्ने होडबाजीमा रहनेछन् । फाइनल खेललाई एक किसिमले फाइनल प्रतिष्ठाको लडाइँको रूपमा हेरिएको छ । खेलको अन्तिम नतिजा आउँदा एपिएफकी कप्तान र अनिता बस्नेत र पुलिसको नेतृत्व गरेकी निरु थापामध्ये एक उत्कृष्ट बन्नेछिन् ।

यी दुवै टोलीलाई प्रशिक्षण राष्ट्रिय पुरुष फुटबल टोलीमा आफ्नो समयमा नाम कमाएका पूर्व खेलाडी अहिले प्रशिक्षकको भूमिकामा छन् । एपिएफका प्रशिक्षक जीवेश पाण्डे कुनै समय घरेलु फुटबलकै राम्रा स्ट्राइकर थिए । पुलिसका प्रशिक्षक भोला सिलवालले राष्ट्रिय टोलीकै पूर्वसदस्य हुन् । एपिएफबाट फुटबल जीवन सकाएका जीवेश यसै टोलीका प्रशिक्षक बनेका छन् । उनले पहिलोपटक एपिएफको महिला टोली सम्हालेका हुन् । जीवेशको प्रशिक्षणमा एपिएफ अपराजित रहँदै फाइनलमा पुगेको हो । ‘हाम्रो लक्ष्य नै अपराजित रहँदै उपाधि जित्ने हो,’ उनले भने, ‘सुरुदेखिको मुभमेन्टम अन्तिमसम्म कायम राख्ने प्रयास हुनेछ ।’ पुलिसका प्रशिक्षक भोलाले फाइनलमा एपिएफविरुद्ध खेल्न तयार रहेको बताए । ‘उपाधि भिडन्तमा हामी एपिएफलाई चुनौती दिनेछौँ,’ उनले भने ।

राष्ट्रिय खेलाडीले भरिएको एपिएफ
पुलिसको तुलनामा एपिएफ बलियो देखिन्छ । एपिएफमा महिला राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरिरहेका खेलाडीहरूको बाहुल्य छ । अहिले एपिएफबाट खेलिरहेका अनिता बस्नेत, रेनुका नगरकोटी, सरु लिम्बू, गीता राना, प्रिती राई, अनिता केसी, रश्मीकुमारी घिसिङ, सविता राना मगर, निशा थोकरले राष्ट्रिय महिला टोलीको प्रतिनिधित्व गर्छन् । एपिएफकी कप्तान अनिता हुन् । एपिएफले आफ्ना मुख्य खेलाडी विना नै फाइनल स्थान पक्का गरेको हो । सिनियर टोलीकै प्रमुख स्ट्राइकर सावित्रा भण्डारी अहिले फ्रान्सको क्लबमा आबद्ध छिन् । गोलरक्षक अन्जिला तुम्बापो सुब्बा गत साता मात्रै ग्रिसको लिगमा आबद्ध भएकी थिइन् । डिफेन्डर हिराकुमारी भुजेल बाहिर नै छिन् । सावित्रा नहुँदा एपिएफको गोल मेसिनका रूपमा रश्मी उदाएकी छ्नि । उनले अहिलेसम्म १८ खेलमा सर्वाधिक ३५ गोल गरेकी छिन् ।

पुलिसलाई पनि राष्ट्रिय खेलाडीको साथ रहनेछ । गोलरक्षक उषा नाथ, अमृता जैसी, पूजा राना र समीक्षा घिमिरेले सिनियर महिला टोलीबाट प्रतिस्पर्धा गर्छन् । एपिएफको तुलनामा पुलिसको रक्षापंक्ति बलियो छ । राष्ट्रिय टोलीकी पूर्वकप्तान निरु थापाले मध्यपंक्तिमा राम्रो प्रदर्शन गरिरहेकी छिन् । पुलिसका प्रशिक्षक भोलाले प्रतिस्पर्धामा राम्रो खेल्ने टोली नै विजयी हुने बताए । ‘विपक्षी एपिएफ बलियो देखिए पनि जसले राम्रो खेल्छ, उपाधि उसैको हुने छ,’ उनले भने, ‘हामी विपक्षीको रणनीतिअनुसार खेल्छौँ ।’

लिग चरणमा पुलिसलाई हराएको थियो एपिएफले
चालू लिगमा एपिएफ र पुलिसबिच तीनपटक प्रतिस्पर्धा भए । जसमा एपिएफले दुईपटक पुलिसलाई निराश पारेको थियो । एक खेल बराबरीमा सकियो । उपाधि भिडन्तमा पुलिसले एक दिनको रेस्ट पाउँदा एपिएफले तीन दिन पाएको थियो । एपिएफका खेलाडीले फाइनलका लागि राम्रोसँग प्रशिक्षण गर्न अवसर पाएका छन् । त्यहीँ नै पुलिसले ४८ घन्टा भित्र महिला लिगकै निर्णायक भिडन्तमा आफूलाई तयार पारेको छ । पुलिसका प्रशिक्षक राजुले खेलाडी केही थकित हुँदा पनि फाइनल खेल्न तयार भएको बताए । ‘एपिएफको तुलनामा हामीले एक दिन रेस्ट पायौँ तर खेलाडीहरूको मनोबल उच्च छ,’ उनले भने ।

सुझावित समाचार