काठमाडौं महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष रुख कटान र जल उत्पन्न विपत्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपत्का घटना भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
कामपा विपत् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रुख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् । त्यसैगरी, विद्युत्बाट आगलागीका घटना ५९, खाना पकाउने ग्यासबाट दुई र अन्य विपत्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार महानगर क्षेत्रमा बिजुलीको पोलमा हुने आगलागीका घटना बढी छन् । जोशीका अनुसार सडक किनारामा रुख रोप्ने काम जारी रहेको र पुराना रुख व्यवस्थापनको काम नभएकाले रुखबाट हुने विपत्का घटना बढेको हो ।
यस्ता घटनामा कमी ल्याउन महानगरले पुराना रुख व्यवस्थापन गरिरहेको उनले जानकारी दिए । गत आर्थिक वर्षभरमा विभिन्न प्रकारका गरी चार सय ३१ विपत्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवाप्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको महानगरको ठहर छ ।