काठमाडौं महानगरपालिकाले छैटौँ शताब्दीको ब्रह्मा मन्दिर पुनर्निर्माण सुरु गरेको छ । सोमबार शास्त्रीय विधिपूर्वक ब्रह्मा मन्दिर पुनर्निर्माणको शिलान्यास भएको हो ।
महानगरको वडा नम्बर ८ जयबागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिर उत्खननपछि सोही स्थानमा पुनर्निर्माण सुरु गरेको वडाध्यक्ष आशामान संगतले बताए । वडाध्यक्ष संगतका अनुसार उक्त मन्दिर हराएकै एक सय वर्षभन्दा धेरै भएको थियो । यस स्थानमा झाडी थियो । पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनता अध्ययन गरिएको थियो । यसबाट मन्दिर छैटौँ शताब्दीदेखि सातौँ शताब्दीबिचमा निर्माण भएको अनुमान गरिएको छ ।
‘मन्दिरको बनावट र प्रकृतिसम्बन्धी दस्ताबेज नपाइएपछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविद्हरूबाट मन्दिरको रेखांकन गराएका हौँ,’ संगतले भने ।
उनका अनुसार मन्दिरको मूर्ति वर्षौंदेखि गौशाला प्रहरी कार्यालयमा छ, कार्यालयबाट मन्दिरमा सार्न हतार भइसकेको छ ।
सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट मन्दिरको पुनर्निर्माण हुँदै छ । यसको लागत करिब एक करोड १५ लाख छ । आगामी वर्षको २६ साउनभित्र पुनर्निर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा दिइएको छ । माटो, इँटा र काठको प्रयोगबाट निर्माण हुने मन्दिर दुई तलाको प्यागोडा शैलीको हुनेछ । मन्दिरमा गजुर पनि राखिनेछ । निर्माण गर्दा वडासँगै महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग, स्थानीय समुदाय, संघसंस्थाहरूसँग पनि समन्वय गरिनेछ ।