सुपर सिक्समा पुग्न नेपालले अस्ट्रेलियालाई हराउनैपर्ने

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

लगातार दोस्रो हारसँगै समूह ‘डी’को पुछारमा रहेको नेपाल अंकविहीन 

पहिलोपटक आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाएको नेपाली महिला टोलीको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ । मलेसियामा चलिरहेको प्रतियोगितामा नेपाल सोमबार स्कटल्यान्डसँग एक विकेटले पराजित भयो । लगातार दोस्रो हारसँगै नेपालको समूह ‘डी’मा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुग्ने आशा पातलिएको हो । प्रतियोगिताको फर्म्याटअनुसार प्रत्येक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने प्रावधान छ । 

नेपालले बंगलादेश र स्कटल्यान्डविरुद्ध हारको सामना गरेपछि अब अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध खेल्दै छ । समूह ‘डी’मा अस्ट्रेलियाले लगातार दुई खेलमा जित निकाली चार अंकका साथ शीर्ष स्थान बलियो बनाएको छ । दोस्रो स्थानमा बंगलादेश र तेस्रो स्थानमा स्कटल्यान्ड छन् । दुई खेलमा अंकविहीन नेपाल चौथो स्थानमा छ । नेपालले बुधबार अस्ट्रेलियाविरुद्ध जित निकाले पनि सुपर सिक्सको स्थान पक्का गर्न सक्दैन । यसका लागि बंगलादेश र स्कटल्यान्डको नतिजामाथि निर्भर हुनुपर्छ । 

दोस्रो संस्करणको विश्वकपमा नेपालले दुवै खेलमा कमजोर ब्याटिङ प्रदर्शन गर्यो । मलेसियाको बान्गीमा स्कटल्यान्डविरुद्ध फितलो ब्याटिङ दोहोर्यायो । पहिलो ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७४ रनमा समेटियो । प्रत्युत्तरमा स्कटल्यान्डले पनि सहज लक्ष्य भेटाउन सकेन । नेपालको कसिलो बलिङसामु स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाएर ७५ रन जोड्दै सुपर सिक्सको आशा बलियो बनाएको छ । 

मासेराको घातक बलिङमा नेपाल धराशयी
नेपालको ब्याटिङ धर्मराउनमा स्कटल्यान्डकी मैसिए मासेराको घातक बलिङ नै मुख्य रह्यो । उनले टी–२० फर्म्याटमा पनि १५ रन दिएर नेपालका पाँचजना खेलाडीलाई पेभेलियनको बाटो देखाए । इनिङ्सको एक समय नेपाल १५ ओभरको समाप्तिसम्म ६४–६ को सुदृढ अवस्थामा थियो । दायाँहाते फास्टबलर मासेराले १२ ओभरपछि इनिङ्सको १६औँ ओभरमा बलिङ गर्न आइन् । उनले १६.१ ओभरमा सेट भएकी नेपालकी कप्तान पूजा महतोको महत्वपूर्ण विकेट लिन सफल भइन् । क्याचआउटका रूपमा पूजा आउट भएपछि नेपालको ब्याटिङ एकैपटक पतन भयो ।

मासेराले १६.२ ओभरमा अलिसा यादव र १६.४ ओभरमा रचना चौधरीको विकेट लिँदै खेल एकैपटक नेपालबाट स्कटल्यान्डतर्फ ल्याइन् । १६ ओभरको खेल समाप्तिसम्म नेपाल ६७–७ बाट ६६–९ को कमजोर अवस्थामा पुग्यो । चार बलको अन्तरमा नेपालले महत्वपूर्ण ३ विकेट गुमाएको नेपाल त्यसपछि खेलमा फर्कन सकेन । नेपालले अन्तिम विकेटका लागि थप सात रन जोड्दा ७४ रनमा अलआउटको सामना गर्यो । खेलकै म्यान अफ दी म्याच मासेराले ३.५ ओभरमा बलिङ गरेकी थिइन् ।

नौ खेलाडी दोहोरो रनविहीन
नेपालको ब्याटिङ इनिङ्सको मुख्य कमजोरी नै फास्ट बलर सामना गर्न नसक्नु रह्यो । फास्टबलर मासेराले एकै ओभरमा तीन विकेट लिएको पिचमा नेपालका खेलाडीहरू डेटेर खेल्न सकेनन् । यस इनिङ्समा नौ खेलाडी दोहोरो रनविहीन भए । ओपनर सना प्रवीण (१), ज्योत्सिना मारासनी (४), किरण कुँवर (४), करिश्मा गुरुङ (२), सीमा केसी (१), अलिसा यादव (३), अनु कडायत (५), रचना चौधरी (०) र रिया शर्मा (२) ले योगदान दिए । 

See More On

सुझावित समाचार