मधेश प्रदेशमा आर्थिक वर्ष ०८०/८१ मा ४५ हजार ५७१ मेट्रिक टन माछा उत्पादन भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेश प्रदेश) अनुसार आव ०७९/८० को तुलनामा आव ०८०/८१ मा मधेश प्रदेशका आठ जिल्लामा माछाको उत्पादन ५.०४ प्रतिशतले वृद्धि भएको हो।
राष्ट्र बैंकका अनुसार आव ०७९/८० मा मधेश प्रदेशमा माछाको उत्पादन ४३ हजार ३८६ मेट्रिक टन थियो। मधेश प्रदेशमा भएको कुल माछा उत्पादनमा बारा जिल्लाको हिस्सा सबैभन्दा धेरै अर्थात् २२.४३ प्रतिशत छ । पर्सा जिल्लामा भएको माछा उत्पादनको हिस्सा सबैभन्दा कम ७.९९ प्रतिशत छ।
पर्साको पकहाँमैनपुर गाउँपालिकामा व्यावसायिक ढंगले दीपेन्द्र माछापालन उद्योग सञ्चालन गर्दै आएका दीनानाथ साहले माछा उत्पादनमा वृद्धि भए पनि माछाको उचित बजार मूल्य नपाएको गुनासो गरे। ‘विगतमा भारतबाटै माछाको आयात धेरै हुने गर्थ्यो। अहिले कम्तीमा पनि यहाँ माछाको उत्पादन बढिरहेको छ,’ उनले भने, ‘माछाको भुरा र माछापालन सम्बन्धित प्राविधिक ज्ञानको अभाव भने खड्किरहेको छ।’
राष्ट्र बैंकको प्रतिवेदनले माछा उत्पादन मात्रै नभएर यस प्रदेशमा दुधजन्य पदार्थको उत्पादनमा समेत वृद्धि भएको देखाएको छ। आव ०८०/८१ म मधेश प्रदेशमा दुधको उत्पादन १.९३ प्रतिशतले वृद्धि भई ६ लाख ५४ हजार १२३ लिटर पुगेको छ । मधेश प्रदेशका आठ जिल्लामध्ये दुध उत्पादनको सबैभन्दा ठुलो हिस्सा भने सिराहा जिल्ला रहेको छ। सो जिल्लाको हिस्सा २०.४४ प्रतिशत छ भने सप्तरीको हिस्सा सबैभन्दा कम ७.८३ प्रतिशत छ।
त्यस्तै, मधेश प्रदेशमा मासुको उत्पादन २.९८ प्रतिशतले वृद्धि भई एक लाख ४३ हजार ६७० मेट्रिक टन पुगेको छ। प्रदेशमा अन्डाको उत्पादन पनि बढेको देखिन्छ। आव ०७९/८० को तुलनामा मधेशमा अन्डाको उत्पादन २.७९ प्रतिशतले वृद्धि भई १० करोड ६९ लाख ३९ हजार गोटा उत्पादन भएको छ।