पाँच वर्षअघिको कोरोना महामारीबाट श्रीमान् गुमाएकी साबित्रा कामीको ६ पुसमा गएको भूकम्पले घर पनि राखेन। बाजुरा जगन्नाथ गाउँपालिका–१ डिमर दलित टोलका ३० वर्षीय सावित्रा कामीले केही वर्ष पहिलाको कोरोना महामारीमा श्रीमान् काशी कामी गुमाएकी थिइन्। श्रीमान् गुमाएको केही वर्षमै साबित्रा पाठेघरमा देखिएको समस्याबाट घरमै थला परिरहेकी छिन्।
श्रीमान् गुमाएको पीडा हम्मेहम्मेसँग भोगिरहेकी थिइन्। श्रीमान् विना दुई छोराको पालनपोषण कसरी गर्ने चिन्ता छँदै थियो। त्यसमाथि ६ पुसमा जगन्नाथ गाउँपालिका–५ केन्द्रविन्दु भएर गएको भूकम्पले उनको घर चिराचिरा पारेपछि त उनी त्यसयता कुनै पनि रात निदाउँनै सकेकी छैनन्।
साबित्राका १० र ७ वर्षीय छोरा छन्। उनी भन्छिन्, ‘न जग्गा जमिन छ, न त अन्य आयस्रोत। त्यसमाथि अपांग छु। थप पीडा भूकम्पले दिएको छ। घरमा बस्नै नमिल्ने भएपछि अलपत्र परेकी छु। ’
स्थानीय सरकारदेखि अन्य कुनै पनि सरोकारवालाहरूले वास्ता नगरेको साबित्राले गुनासो पोखेकी छिन्। जगन्नाथ गाउँपालिका– १ का वडाध्यक्ष गणेशराज गिरीले स्थानीय सरकारबाट केही सहयोग भए पनि त्यसले मात्रै उनका दुई लालाबाला र उनलाई नपुगेको बताए। मनकारी संघसंस्थाबाट सहयोग भए राम्रो हुने उनको भनाइ छ।
साबित्राका दुई छोरा गाउँनजिकैको सरस्वती माविमा पढ्न्। जेठो सुनील ६ कक्षामा र कान्छो श्वास कामी ३ कक्षामा अध्ययन गर्छन्। ६ पुसको भूकम्पले बाजुरा जगन्नाथ गाउँपालिकामा सयौँ घरमा क्षति पुगेको थियो।