स्वास्थ्यकर्मीले रेबिज खोप लगाएकै कारण बिरामीकाे मृत्यु भएको आफन्तको आरोप

बिहिबार, २५ पुष, २०८१
डिजिटल संस्करण

छाती दुखेपछि उपचारका लागि महाकाली अस्पताल पुगेका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। भीमदत्त नगरपालिका–२, उल्टाखामका ७७ वर्षीय जग्गु भण्डारीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो। उपचारका लागि बुधबार अस्पताल पुगेका भण्डारीलाई चिकित्सकले छातीको जाँच (इसिजी)का लागि भोलिपल्ट आउन सुझाव दिएका थिए। 

चिकित्सकको सुझावअनुरूप भण्डारीलाई उनकी बुहारी विनिता भण्डारीले उपचारका लागि दोस्रो दिन (आज) अस्पताल ल्याइन्। चिकित्सकको सिफारिसअनुसार  भण्डारीको इसिजी गरिएको थियो। इसिजीसँगै रेबिजविरुद्धको खोप पनि लगाइयो। भण्डारीको उपचारमा सँगै रहेकी बुहारी विनिता भण्डारीले इसिजी गरेपछि त्यहाँ रहेका स्वास्थ्यकर्मीले कुममा दुईवटा खोप लगाइदिएको बताइन्। ‘हामीलाई डाक्टरले इसिजी गराउन पठाए, तर त्यहाँ दुईवटा खोप पनि लगाइदिए। सुरुमा खोपबारे थाहै भएन, खोप लगाएको १० मिनेटमै मेरो ससुरा त्यही ढलेर प्राण गयो।’ मृतक भण्डारीका आफन्तले इसिजीका लागि सिफारिसविपरीत रेबिजको सुई लगाएर जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले गम्भीर त्रुटि गरेको आरोप लगाए। उनीहरूले लापरबाही गर्नेमाथि कारबाहीको माग गरेका छन्।

मृतक भण्डारीकी अर्की बुहारी शान्ति भण्डारीले एउटा रोगको जाँचका क्रममा अर्को रोगको खोप लगाएर नागरिक(बिरामी)को स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको बताइन्। ‘ससुराको छातीको चेकजाँच गर्नुपर्ने, तर चिकित्सकले सिफारिस गरेविपरीत रेबिजको खोप लगाए। लापरबाहीकै कारण हामीले ससुरा गुमाउन पुग्यौँ।’ 

मृतकका आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही नहुँदासम्म शव नबुझ्ने जनाएका छन्। शव अहिलेसम्म अस्पतालमै छ। भण्डारीलाई रेबिजकै खोप लगाएको बारे प्रमाणित भने भएको छैन। 

महाकाली अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले आफूले भण्डारीको इसिजी जाँच मात्रै गरेको दाबी गरे। महाकाली अस्पतालले पनि रेबिज भ्याक्सिन लगाउँदैमा मृत्युको कारण त्यही हुन नसक्ने जनाएको छ।

अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले छातीका बिरामी भण्डारीको मृत्यु रेबिज भ्याक्सिनकै कारणले नभएको बताए। ‘उहाँ पहिल्यैदेखि बिरामी भएकाले अन्य कारणले पनि मृत्यु भएको हुन सक्छ। त्योबारे हामी अध्ययन गर्दै छौँ,’ उनले भने।

अस्पतालको एउटै कोठाबाट इसिजी जाँच र रेबिजविरुद्धको खोप लाइँदै आएको छ। सेवा प्रवाहमा मानवीय त्रुटि हुन गए अस्पतालले छानबिन गरेर गल्ती सच्याउने निमित्त मेसु भट्टले बताए।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले उक्त घटनाबारे अस्पताल गम्भीर भएको र छानबिन गरिने बताए। मृतकका आफन्त र अस्पतालबिच मृत्युको कारणबारे छलफल भए पनि निष्कर्षमा पुगेको छैन। 

सुझावित समाचार