प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गरेका छन्।
आज आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई विभाजन गरेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको टिप्पणी गरे।
बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली कांग्रेससँगको गठबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठबन्धनपछिका ६ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु समावेश छन्।
नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र संकल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएजस्ता मुख्य उपलब्धि हासिल भएको अध्यक्ष ओलीले प्रस्तुत गरेका छन्।