प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौंबाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौंबाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन ।
काठमाडौं विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौंबाट सीधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजबिलिटीका कारण उडान हुन सकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलो गरी खुल्ने गरेको उनले बताए ।
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।