दक्षिण कोरियाको जहाज दुर्घटना चरा ठोक्किएर भएको हो ?

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

दक्षिण कोरियामा आइतबार भएको विमान दुर्घटनाको घटनाले हवाई सुरक्षामाथि फेरि गम्भीर प्रश्न उठेको छ। १७५ यात्रु बोकेर बैंककबाट फर्किएको सो जहाज अवतरणको क्रममा मुवान विमानस्थलमा दुर्घटना भएको हो। 

चरा ठोक्किएर सो दुर्घटना भएको आशंका गरिएको छ। बिबिसीका अनुसार ल्यान्ड गर्न खोज्ने क्रममा एयर ट्राफिक कन्ट्रोलले चरा ठोक्किन सक्ने चेतावनी दिएपछि दुई मिनेट होल्ड भएको थियो। पछि विपरीत दिशाबाट जहाज अवतरणका लागि अनुमति भएकोमा जहाज रनवेबाट भित्तामा गएर ठोक्किएको थियो। 

जहाजका एक यात्रुले जहाजको पखेटातर्फ चरा अड्किएकाले अवतरणमा ढिलाइ भएको भनेर आफन्तलाई म्यासेज पठाएका थिए। 

अर्काेतर्फ दुर्घटनाको एक भिडियोमा पांग्रा तथा अन्य ल्यान्डिङ गियरविना नै रनवेमा विमान अवतरण भएको देखिन्छ। दुर्घटनाको कारणमध्ये एक खराब मौसमलाई पनि ठानिएको छ। तर, ठ्याक्कै कारण पत्ता लागेको छैन। 

विमानमा दुई थाईबाहेक सबै कोरियन नागरिक थिए। उनीहरूमध्ये धेरैजसो थाइल्यान्डमा क्रिसमसको बिदा मनाएर फर्कँदै थिए। 

जेजु एयरको सो विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य थिए। चालक दलका दुई सदस्यको उद्धार भएको थियो। १७९ जनाले ज्यान गुमाएको पुष्टि भइसकेको छ।

सन् २००५ मा स्थापना भएको जेजु एयर बजेट एयरलाइन्सका रूपमा कोरियामा लोकप्रिय छ। यसअघि एयरलाइन्सका कुनै पनि विमान दुर्घटनामा परेका थिएनन्। 

सुझावित समाचार