पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टीतेल ढुवानी हुने दिन नजिकिँदै गर्दा ट्यांकर विस्थापन गर्न नपाइने भन्दै पेट्रोलियम ढुवानी व्यवसायी र चालकहरूले हडताल आह्वान गरेका छन् ।
अहिले इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा पेट्रोल आयातका लागि एक सय चारवटा ट्यांकर करारमा छन् । यी ट्यांकरधनी र चालकले पाइपलाइनबाट तेल आउनुअघि नै अन्य रुटमा ट्यांकरले इन्धन ओसार्न पाउने गरी व्यवस्थापन नभए आइतबारदेखि भारतबाट पेट्रोल ढुवानी ठप्प पार्ने घोषणा गरेका हुन् ।
प्रलयंकर आचार्य, मधेश प्रादेशिक प्रमुख, आयल निगम
बरौनीबाट पेट्रोल ल्याउन नमानेर ट्यांकरधनी र चालकहरूले हडताल सुरु गरे भने पाइपबाटै तेल ओसारेर बजारमा वितरण गर्छौँ । अहिले पाइपबाट तेल ल्याउन कुनै समस्या छैन । उद्घाटनका लागि पर्खेर मात्र बसेको हो ।
तर, आयल निगमले भने हडताल जारी राखे पाइपलाइनबाट सबै इन्धन आयात गरेर आपूर्ति गरिने मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए । ‘बरौनीबाट तेल ल्याउन नमानेर हडताल सुरु गरे भने पाइपबाटै तेल ओसारेर बजारमा वितरण गर्छौँ,’ आचार्यले भने, ‘अहिले पाइपबाट तेल ल्याउन कुनै समस्या छैन । उद्घाटनका लागि पर्खेर मात्र बसेको हो ।’
अमलेखगन्जमा ६ वर्षअघिदेखि डिजेल मात्रै आयात भइरहेको पाइपबाटै पेट्रोल र मट्टीतेलसमेत आयात गर्न मिल्ने पूर्वाधार तयार भइसकेको छ । त्यसैले पाइपबाटै सबै पेट्रोलियम आयात गर्न उद्घाटन मात्रै गर्न बाँकी हो ।
बरौनीबाट पेट्रोल ओसार्ने एक सय चार ट्यांकरमध्ये करिब ३० वटाले डिपोदेखि पेट्रोलपम्पसम्म पनि इन्धन ढुवानी गर्छन् । ‘हडतालमा उत्रिएका थोरै ट्यांकर मात्रै पेट्रोलपम्पमा तेल लैजान प्रयोग हुन्छन् । त्यसैले यी ट्यांकरले पम्पसम्म तेल लगेनन् भने पनि समस्या हुँदैन । अन्य ट्यांकरहरू व्यवस्थापन गर्न सकिन्छ,’ कार्यालय प्रमुख आचार्यले भने ।
अमलेखगन्जदेखि काठमाडौं, विराटनगर, पोखरा, भैरहवालगायतका डिपोमा डिजेल ढुवानी गर्ने ट्यांकरहरू भने यो हडतालमा सहभागी छैनन् ।
पाइपबाट इन्धन ढुवानी सुरु भएपछि बरौनी–अमलेखगन्ज रुटका लागि करार गरिएका एक सय चारवटा ट्यांकर तत्कालै विस्थापन हुनेछन् । त्यसैले अमलेखगन्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, यातायात, स्वतन्त्र मजदुर संगठन, इकाइ अमलेखगन्ज र पेट्रोलियम ट्यांकरचालक संघ, इकाइ अमलेखगन्जले संयुक्त रूपमा हडतालको निर्णय लिएका हुन् ।
पेट्रोलियम ढुवानी व्यवसायी संघ, अमलेखगन्जका महासचिव राम ठकुरीले विगतदेखिको रोजीरोटी खोसिने गरी ट्यांकर विस्थापन गर्ने निगमको तयारी भएकाले हडताल आह्वान गरेको बताए । उनले अन्य रुटमा ट्यांकरलाई करार गरिदिनुपर्ने माग राखेको बताए ।
आयल निगमले पुसको अन्तिम साता पाइपलाइनको उद्घाटन गरेर नियमित रूपमा पेट्रोल, डिजेल र मट्टीतेल पाइपबाटै ढुवानी सुरु गर्ने योजना बनाएको छ ।
तेल चुहावट भए दोब्बर जरिवानाको विरोध
ट्यांकरमा इन्धन ढुवानी हुँदा बाटोमा चोरी हुने क्रमलाई कम गर्न आयल निगमले प्रतिट्यांकर ५० लिटरभन्दा बढी चुहावट भएको भेटिए प्रचलित मूल्यको दोब्बरले जरिवाना गर्ने नियम कार्यान्वयन गरिरहेको छ । यस्तो व्यवस्थाले चालकले तेल चोरी गरेको पुष्टि भए दोब्बर जरिवाना तिर्नुपर्ने हुन्छ । अहिले चालकहरूले यस्तो व्यवस्था हटाउन माग राखेका छन् । यो व्यवस्था हटाए तेल चोरी गर्न सहज हुने उनीहरूको आशय रहेको निगम स्रोतले जनाएको छ ।
आयल निगमले न्यूनतम पाँचवटा ट्यांकरधनीसँग मात्रै करार गर्ने गरेको छ । चालकहरूले एउटा ट्यांकर मात्रै चलाउनेसँग पनि करार गरेर सेवा सुचारु गर्नुपर्ने माग राखेका छन् ।
बरौनीबाट पेट्रोल ल्याउन नमानेर ट्यांकरधनी र चालकहरूले हडताल सुरु गरे भने पाइपबाटै तेल ओसारेर बजारमा वितरण गर्छौँ । अहिले पाइपबाट तेल ल्याउन कुनै समस्या छैन । उद्घाटनका लागि पर्खेर मात्र बसेको हो ।