यातायातविज्ञ आशिष गजुरेललाई ३ प्रश्न

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण

अहिले ललितपुर महानगरमा जडान गरिएको एआई ट्राफिक लाइट कस्तो हो ?
अहिले भइरहेका परम्परागत ट्राफिक लाइटभन्दा फरक तथा अत्याधुनिक र जुन दिशातर्फ सवारीसाधन बढी गुड्छ त्यतैतिर ग्रिन सिग्नल बढी दिने, ट्राफिक डिटेक्ट गर्ने लाइटलाई एआई ट्राफिक लाइट भनिन्छ । तर, दुई किलोमिटरभित्र मात्रै टाफिक लाइट राखेर ट्राफिक व्यवस्थापनको समस्या समाधान हुँदैन । यस्तो लाइट उपत्यकाका तीन जिल्लाभरि नै आवश्यक छ । एआई ट्राफिक लाइटले ह्विलचियर र पैदलयात्रीलाई समेत रिड गर्नसक्ने गरी राख्नुपर्छ । 

एआई ट्राफिक लाइटले ट्राफिक व्यवस्थापनमा कति सहज हुन्छ ? 
क्यामेरा र सेन्सरको माध्यमद्वारा सवारीसाधनको संख्या रियल टाइममा गणना गर्ने अत्याधुनिक लाइटलाई एआई ट्राफिक लाइट भन्ने गरिन्छ । यसमा बत्ती र क्यामेरा जडान गरिएको हुन्छ । क्यामेरा र सेन्सरले बत्तीलाई सपोर्ट गर्छ । यो पूर्ण रुपमा स्वचालित प्रणालीमा आधारित हुन्छ । यस्तो प्रविधि प्रयोग गर्दा सवारी व्यवस्थापनमा पक्कै सहज हुन्छ नै । एआई लाइटले सवारी चाप जता बढी हुन्छ त्यता हरियो बत्ती बाल्छ । सवारीसाधनको चाप बुझेर यातायात व्यवस्थापन गर्ने हुँदा हाम्रो जस्तो सवारीसाधनको अत्यधिक चाप हुने राजधानीका सडकमा यो बढी प्रभावकारी देखिन सक्छ ।

यस्तो स्मार्ट ट्राफिक लाइट राख्दा सडकमा के फरक देखिएला ?
यसबाट ट्राफिक जाम र दुर्घटना न्यूनीकरण हुन्छ । यसले चालकलाई अनुशासन सिकाउँछ भने चौबाटोमा चारतिरैबाट आएका सवारीसाधनलाई सही मार्ग देखाउँछ । ट्राफिक व्यवस्थापनमा धेरै जनशक्तिको खाँचो पनि पर्दैन । त्यसैले, एआई ट्राफिक लाइट हाम्रो जस्तो सहरमा अत्यावश्यक छ । 

सुझावित समाचार