चिसो बढेसँगै मुगुको सीमा प्रहरी चौकी बेँसीतिर सारियो

मंगलबार, २ पुष, २०८१
डिजिटल संस्करण

केही दिनयता अत्यधिक चिसो बढेसँगै  जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लाको पूर्वी सीमामा रहेको मुगु प्रहरी चौकी र उक्त  चौकीमा कार्यरत सुरक्षाकर्मीलाइ बेँसीतिर सारेको छ।
अत्यधिक चिसो बढेका कारण मुगुम कार्मारोङ गाउँपालिका- २ मा रहेको सीमा प्रहरी चौकी र चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ)सहित ९ जना प्रहरी जवानलाई चिसो महिना सम्मका लागि चितैकुना भन्ने ठाउँमा सारिएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सरोज गिरिका अनुसार मंसिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मुगु सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई चिसो महिनासम्मका लागि मुगुम कार्मारोङ गाउँपालिकाको चितैकुना भन्ने ठाउँमा सारिएको छ। 

विगतका वर्षहरूमा उक्त चौकीलाई सदरमुकाम गमगढी तानिने भए पनि यस वर्ष भने शान्ति सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै र स्थानीय सरकार मुगुम कार्मारोङ गाउँपालिकाको अनुरोधमा गाउँपालिकाकै चितैकुना भन्ने ठाउँमा राखिएको उनले बताए।

गर्मी मौसम सुरु भएपछि उक्त सुरक्षाकर्मीहरूलाई सीमा प्रहरी चौकीतर्फ फर्काइने प्रनाउ पी. गिरीले जानकारी गराए।
जिल्लाको पूर्वी उत्तरी सीमामा रहेको मुगु प्रहरी चौकी अबको करिब ६ महिना अथवा चिसो मौसम सकिँदासम्म बन्द रहनेछ। उक्त चौकीको कामकाज चितैकुना भन्ने स्थानबाट हुनेछ।

यो वेला मुगुम कार्मारोङ गाउँपालिका- २, मुगुगाउँका सबै स्थानीय जाडो छल्न घरमा ताल्चा लगाएर बेँसी झर्ने र हिमपातले नाका पनि बन्द भै सुनसान हुने गर्दछ। 
प्रहरी मात्र गाउँमा बसेर कुनै काम नहुने भएकाले सीमा सुरक्षा प्रहरी चौकीमा कार्यरत प्रहरीलाई हिउँदको समयमा सधैँजसो बेँसीतिर तानिँदै आएको प्रनाउ गिरिको भनाइ छ।

सुझावित समाचार