देशभरका नेताहरूको भेलामा ओलीको सन्देश–पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन चाहे छलफल हुन्छ

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा सक्रिय हुन चाहे यसलाई आफ्नो पार्टीले छलफलको विषय बनाउने बताएका छन् । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सर्वसम्मत भावी अध्यक्षका लागि रुचि राखिरहेको समाचार आइरहेका वेला प्रधानमन्त्री ओलीले पार्टीमा सक्रिय हुन चाहेको अवस्थामा जुनसुकै वेला आन्तरिक छलफल हुने स्पष्ट गरे । 

‘उहाँले फेरि सक्रिय राजनीति गर्न चाहेको हो भने बाहिर–बाहिर होइन, हामीसँग कुरा गर्नुहुन्छ, पार्टीसँग कुरा हुन्छ, किनभने उहाँलाई राष्ट्रपति पनि पार्टीले नै बनाएको हो,’ आइतबार सम्पन्न केन्द्रीय संगठन विभागको कार्यशाला समापनमा ओलीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘उहाँका बारेमा अरूले कुरा गर्नुपर्ने र बाहिर चर्चा गर्नुपर्ने होइन । राष्ट्रपति नै भइसकेको उहाँ त्यति अपरिपक्व व्यक्तित्व हो र ?’ 

एमालेमा केही नेता–कार्यकर्ताले भण्डारीलाई सक्रिय राजनीतिमा आउन सुझाव दिइरहेका वेला ओलीले राष्ट्रपति भइसकेको व्यक्तिले पार्टी राजनीतिमा फर्किन चाहे परिपक्व ढंगले नै आउने बताए । पार्टीले पनि त्यसअनुसार नै सोच राखेर आन्तरिक छलफलको विषय बनाउने ओलीको भनाइ थियो । बाहिर आएका हल्लाका पछाडि भने नलाग्न उनले कार्यकर्तापंक्तिलाई सचेत गराए । भण्डारीले पार्टी राजनीतिमा फर्किन सक्ने आशयका अभिव्यक्ति र गतिविधि जारी राखेकी छिन् । 

ओलीले पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका नाममा कुनै गुट नरहेको भन्दै दुवै नेता आफ्ना लागि बराबर रहेको बताए । ‘अहिले कतिपयले विष्णु पौडेल र शंकर पोखरेलको गुट भन्छन् । तर, एमालेमा कसैको गुट छैन । मेरो गुट हुने कुरै भएन । मलाई सबै साथीहरूले सघाएकै छन्, सबै मेरा लागि बराबर  हुन्,’ ओलीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘बाहिर कसले के भन्छन्, कसका नाममा गुट बनाइन्छन्, तर एमालेमा अहिले कसैको गुट छैन । विष्णु पौडेलको पनि गुट छैन, शंकर पोखरेलको पनि गुट छैन । मेरा लागि दुवैजना बराबर हुन् । तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोला ।’

पार्टीभित्र अघोषित रूपमा तलैसम्म पौडेल र पोखरेलका समूह सक्रिय रहेका वेला पार्टी अध्यक्ष ओलीले दुवैजना बराबर रहेको अर्थपूर्ण अभिव्यक्ति दिएका हुन् । जब कि एमालेमा पोखरेललाई ओलीनिकट नेता मानिन्छ । 

प्रधानमन्त्री ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह पनि गरे । 

चिनियाँ कम्युनिस्ट पार्टीको संघर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्नेमा जोड दिए । चिनियाँ कम्युनिस्ट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिक रूपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले त्यहाँ पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने गरेको स्मरण गराए । 

प्रतिक्रियावादीले कम्युनिस्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीति लिए पनि पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो, त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाउने र त्यसमा अडिग रहने इमानदारीपन नेता–कार्यकर्तामा आवश्यक हुने बताए । 

आइतबार सम्पन्न कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसंगठनका केन्द्रीय अध्यक्ष÷महासचिव र महानगर÷उपमहानगरका एमालेबाट निर्वाचित प्रमुख÷उपप्रमुखहरूको सहभागिता रहेको थियो । 

एमालेको केन्द्रीय कार्यशालाको ६ बुँदे घोषणा : माघदेखि तीनमहिने वडा अभियान

एमालेको दुईदिने केन्द्रीय कार्यशालाले माघदेखि तीनमहिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । केन्द्रीय संगठन विभागको आयोजनामा आइतबार सम्पन्न ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालाले आगामी माघदेखि चैतसम्म निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वडाकेन्द्रित अभियान सञ्चालन गर्ने घोषणा प्रस्ताव पारित गरेको हो । 

त्यस्तै, कार्यशालाले आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरेको केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुंगेलले बताए । त्यस्तै, आगामी फागुन–चैतभित्रै सदस्यता नवीकरण सम्पन्न गर्ने, यस वर्षभित्रै सबै पार्टी सदस्यलाई अनलाइनमा ल्याउने प्रस्ताव पनि कार्यशालाले पास गरेको छ । पार्टी र नेतृत्वका विरुद्धका षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी, नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबिच स्थापित गर्ने संकल्प प्रस्ताव पनि कार्यशालाले पास गरेको छ । 
 

See More On

सुझावित समाचार