कांग्रेस महामन्त्री शर्माले गरे हिमाल आरोहण

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर ६१४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् । २१ मंसिरदेखि खुम्बु पदयात्रामा रहेका शर्मालगायतले बिहीबार राति साढे ११ बजे लोबुचेको बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर शुक्रबार बिहान ६ः४५ बजे लोबुचे हिमालको आरोहण गरेको हो ।

आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार हिमाल आरोहणमार्फत जलवायु परिवर्तनले हिमालमा पु¥याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने रहेको छ । पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले थप भोग्नुपरेको चुनौतीको थप अध्ययन गरेर समाधानका लागि सम्बन्धित सबै तहको ध्यानाकर्षण गराउने उद्देश्य छ ।

खुम्बु पदयात्रा क्रममा लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा क्रममा टोलीले लोबुचे हिमाल आरोहणका अतिरिक्त थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्यान्ड पिक, तबुचे, पुमरी, मकालुलगायतको हिमालको अवस्थालाई (खुम्बु) पदयात्रा क्रममा नजिकबाट दृश्यावलोकन र स्थानीयवासीसँग संवाद गरिएको थियो । संसद्को आगामी अधिवेशनमा सांसद शर्माले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असरबारे स्थलगत अध्ययनको विवरण राख्ने बताए ।

महामन्त्री शर्मा संघीय संसद्का दुवै सदनको वर्तमान कार्यकालका तर्फबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बनेका छन् । साथै, उनी मुख्य राजनीतिक दलका मुख्य पदाधिकारीमध्ये यो हिमाल आरोहण गर्ने प्रथम पदाधिकारीसमेत बने । आरोहण दलमा अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा तथा कीर्तिमानी आरोहीद्वय मिङ्मा शेर्पा र लाक्पा शेर्पा सहभागी छन् ।

सुझावित समाचार