माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीनबिचको बिआरआई प्रारूप सहकार्य सम्झौताको स्वागत गरेका छन् । शुक्रबार पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले आफू प्रधानमन्त्री भएकै पालामा अघि बढाइएका विषयमा सम्झौता भएको पनि उल्लेख गरे ।
‘हामीले जे विषय अघि बढाएका थियौँ, त्यही सम्झौता भएको छ । यो सकारात्मक छ र स्वागत गर्छौँ । तर, प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै नयाँ प्रयास भएको देखिएन भन्ने अध्यक्षज्यूको भनाइ थियो,’ माओवादी सचिव गणेश शाहले बैठकपछि नयाँ पत्रिकासँग भने ।
प्रचण्डले एमाले, कांग्रेसलगायत पार्टीबाट माओवादी प्रवेश गर्न चाहनेको संख्या बढेको भन्दै एकतापछि सम्मानजनक स्थान दिनुपर्नेमा जोड दिए । शाहका अनुसार उपनिर्वाचन परिणामपछि माओवादीप्रति जनतामा उत्साह थपिएको, माओवादीका एजेन्डा स्थापित भएको प्रचण्डको भनाइ थियो । कांग्रेस खस्केको, एमालेको राम्रो अवस्था नभएको विश्लेषण सुनाउँदै प्रचण्डले पार्टी सुदृढीकरणमा लाग्नुपर्ने बताएका थिए । ‘अब जुन तहका मानिस माओवादीमा आउँछन्, त्यहीअनुसारको जिम्मेवारी दिनुपर्छ । पार्टी थप व्यवस्थित गर्नुपर्छ,’ प्रचण्डलाई उद्धृत गर्दै शाहले भने ।
माओवादीले २ पुसदेखि बोलाएको केन्द्रीय कमिटी बैठक २१ पुसका लागि सरेको छ । यसबिचमा प्रचण्डले दस्ताबेज लेखनमा सक्रिय हुने बताएका छन् । उनले स्थायी कमिटी सदस्यलाई दस्ताबेजको अन्तर्वस्तुबारे सुझाव पनि मागेका छन् । शाहका अनुसार बैठकले माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई थप प्रभावकारी काम गर्न पनि निर्देशन दिएको छ ।