काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा पाँचौँ जित निकालेको छ। टोली प्लेअफमा स्थान बनाउन पनि सफल भएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित १९.३ ओभरमा अलआउट हुँदा मात्र १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा जनकपुरले १५.५ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको हो।
६ खेलबाट १० अंकसहित जनकपुर शीर्ष स्थानमा फर्किएको छ। पाँच खेलबाट चार अंकको काठमाडौंको प्लेअफ सम्भावना यथावत् छ। टोली पाँचौँ स्थानमा छ।
जनकपुरको इनिङमा न्युजिल्यान्डका जेम्स निसमले १७ बलमा सर्वाधिक २७ रन बनाए। एक चौका र तीन छक्का प्रहार गरेका निसमलाई स्पिनर जेरार्ड इरास्मसले एलबिडब्लू धरापमा पारेका थिए। हर्ष ठाकर २५ बलमा २५ रन जोड्दै अविजित रहे। ओपनिङमा आएका लाहिरु मिलान्थाले २० बलमा दुई चौकासहित १६ रन बनाउँदा मोहम्मद मोहसिनले १३ रन जोडे।
कप्तान अनिलकुमार शाह ११ रन बनाएर दीपेश कँडेलबाट एलबिडब्लू धरापमा परे। आरिफ शेख फेरि एकपटक दुई रन मात्र बनाएर पेभिलियन फर्किए। उनी यस प्रतियोगितामा लयमा आउन सकेका छैनन्। शुभशंकर पनि पाँच रन बनाएर आउट भए।
काठमाडौंका लागि कप्तान करण केसीले दुई तथा सहाब आलम, दीपेश कँडेल र इरास्मसले समान एक विकेट हात पारेका थिए।
पहिलो इनिङमा काठमाडौंका जेरार्ड इरास्मसले सर्वाधिक २० रन बनाए। नामिवियाका कप्तानसमेत रहेका इरास्मसले २२ बलमा दुई चौका हिर्काए। कप्तान करण केसीले १३ बलमा तीन चौका र एक छक्कासहित १९ रन बनाएका थिए। ओपनर स्टेफन इस्किनाजीले १९ बलमा दुई चौकासहित १७ रन बनाए।
यसबाहेक ओपनर माइकल लेभिटले आठ, भीम सार्कीले चार, सुमित महर्जन डकआउट, रसिद खान सात, डन डोउथवेटले एक, प्रतिक श्रेष्ठ ६, दीपेश कँडेल डकआउट तथा सहाब आलम आठ रनमा अविजित रहे।
जनकपुरका लागि ललितकुमार राजवंशी र शेर मल्लले समान तीन तथा मोहम्मद मोहसिनले दुई विकेट हात पारे। किशोर महतो, अरनिको यादवले एक विकेट लिएका थिए।
यसअघि आज नै भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्सले एनपिएलमा दोस्रो जित निकाल्यो।
अब शुक्रबार पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ।