सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलाई थप पाँच दिन म्याद थप भएको छ । २ कार्तिकमा पक्राउपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । लामिछानेलाई हिरासतमा राख्नका लागि म्याद थप भएको यो सातौँपटक हो ।
लामिछानेसँगै पाँच जनालाई हिरासतमा राख्न बिहीबार प्रहरीले अदालतबाट अनुमति पाएको हो । प्रहरीले सरकारी वकिल कार्यालयमार्फत पाँचै जनालाई नौ दिन म्याद थपका लागि अनुमति माग गरेकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले पाँच दिनमात्र म्याद थप गरेको हो ।
अदालतले लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छबीलाल बन्जाडे जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने लीला पछाई, नेचर हब्र्स इन्टरनेसनल प्रालि, गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनी तनहुँस्थित भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल र पोखराका कृष्णबहादुर गुरुङलाई म्याद थप गरेको हो ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई प्रहरीले २ कार्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएको थियो । पोखरा ल्याएसँगै लामिछानेलाई यसअघि ४ कार्तिकमा पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन, तेस्रोपटक तिहार बिदा समेत जोडेर २० कार्तिकमा १० दिन, चौथोपटक २५ कात्तिकमा १३ दिन, पाँचौ पटक ९ मंसिरमा १५ दिन र २३ मंसिरमा चार दिन म्याद थप भएको थियो ।
६ असोजमा काठमाडौंबाट पक्राउ परेका जोशीलाई योसँगै नवाैँ पटक म्याद थप भएको हो । १५ असोजमा पक्राउ परेकी पछाईलाई सहकारीबाट गैरकानुनी रुपमा गीतेन्द्रबाबु राई (जिबी)सँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो खातामा लगेर चल–अचल सम्पत्ति खरिद गर्ने र सेयर कारोबारमा लगानी गरेको भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो । खनाललाई प्रहरीले ९ कार्तिकमा काठमाडौं–३ पानीपोखरीबाट र गुरुङलाई कतार उड्न लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट २१ मंसिरमा पक्राउ गरेको थियो ।
प्रतिवेदनको बुझाउने तयारीमा प्रहरी
स्रोतका अनुसार थपिएको पाँच दिनभित्रै प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने गरी तयारी गरिरहेको छ । प्रहरीले सम्पूर्ण अनुसन्धान करिब करिब सकेर प्रतिवेदन लेखनमा जुटेको हो । सकेसम्म आइतबार प्रतिवेदन बुझाउने प्रहरीको तयारी रहेको छ । प्रहरीको प्रतिवेदनपछि सरकारी वकिलको कार्यालयले आवश्यक अध्ययनपछि अभियोजन पत्र दर्ता गर्नेछ ।
पक्राउपछि पोखरा ल्याइएका लामिछाने र जोशीलाई प्रहरीले पोखराबाट अन्य चार जिल्ला समेत लगेको थियो । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडांैको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, चितवनस्थित सहारा बचत तथा ऋण सहकारी संस्था र वीरगञ्जस्थित सानो पाइला सहकारीको ंरकम गोर्खा मिडियामा लगेर खर्च भएको सम्बन्धमा बयानसँगै अनुसन्धानका लागि पोखराबाट लगेको थियो ।