अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा स्थापित ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ यो वर्ष वरिष्ठ अविक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिएको छ । मानव अधिकार, कानुनी शासन एवं सामाजिक न्यायको क्षेत्रमा भण्डारीले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ ।
७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोगद्वारा मंगलवार आयोजित समारोहमा उपप्रधानमन्त्री विष्णु पौडेलले वरिष्ठ अधिवक्ता भण्डारी उक्त पुरस्कार प्रदान गरे । समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वरिष्ठ अधिवक्ता भण्डारीलाई सम्मान गरेका हुन् ।
मानव अधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा अधिकारकर्मी दयाराम परियारको ११ चैत ०६२ मा प्रहरीको गोली लागेकोमा उपचारको क्रममा चैत १५ गते मृत्यु भएको थियो । उनको सम्मानमा हरेक वर्ष ‘दयाराम परियार मानव अधिकार स्मृति पुरस्कार’ प्रदान हुँदै आएको छ।
यसअघि मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा योगदान गरेका डा. शिवमाया तुम्बाहाम्फे, श्याम सुन्दर शशी, दुर्गा घिमिरे, चन्द्रकिशोर झा, बलदेव राम, चरिमाया तामाङ, शारदा चन्द, टेकनाथ बराल, मातृका देवकोटा, नजवुल खान, विद्या राजभण्डारी, रामजी अधिकारी, प्रेम कुमारी पन्त, नारायणप्रसाद शर्मा, डा. हरिहर वस्ती, डा. रेणु अधिकारी लगायतलाई दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार प्रदान गरिएको छ ।