सामाजिक सञ्जालको लत लाग्ने प्रतिक्रियात्मक प्रणालीका कारण विशेषतः बालबालिका सञ्जाल प्रयोगबारे सूचित वा स्वस्थ निर्णय गर्न सक्षम हुँदैनन्
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मेटा (फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी) र टिकटकजस्ता कम्पनीले यस कदमको आलोचना गरेका छन् किनभने यदि यी कम्पनीले बालबालिकालाई आफ्नो मञ्चबाट टाढा राख्न सकेनन् भने यी कम्पनीले तीन करोड २० लाख डलरसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ । अस्ट्रेलियाले लागू गरेको नयाँ नीतिले एक्काइसौँ शताब्दीमा बालबालिकाको संरक्षणका लागि लिइएको महत्वपूर्ण कदमलाई प्रतिनिधित्व गर्छ ।
सबै समाज र सम्बन्धित राज्यले बालबालिकालाई हानिकारक लतबाट जोगाउने जिम्मेवारी वहन गर्नुपर्छ । तर, सामाजिक सञ्जाल कम्पनीले यस्तै कुलतको विकास गरेका छन् । फेसबुकका संस्थापक अध्यक्ष सिन पार्करले सन् २०१७ मा खुलासा गरेअनुसार फेसबुक निर्माण प्रक्रियालाई हामी ‘प्रयोगकर्ताको समय र सचेत ध्यानलाई अधिकतम ढंगले कसरी उपभोग गर्न सक्छौँ ?’ भन्ने प्रश्नले मार्गनिर्देशन गरेको थियो । यी कम्पनीले यस प्रश्नको जवाफमा ‘मानव मनोविज्ञानमा रहेका कमजोरीको फाइदा उठाउँदै’ सामाजिक स्वीकृतिको चाहनालाई फेला पारेका थिए ।
मूलतः पार्करले व्याख्या गरेअनुसार सामाजिक सञ्जाल मञ्च अधिक डोपामिन (एक प्रकारको ‘न्युरोट्रान्समिटर’ हो जसले लत निर्माण गर्न भूमिका खेल्छ) उत्पादन गर्न बनेको हो । अर्थात्, सामाजिक सञ्जालले सामाजिक स्वीकृतिको लत बसाइदिन्छ र लाइक, कमेन्ट, भ्यू र सेयरमार्फत प्रयोगकर्तामा डोपामिन उत्पादन गर्छ । मानिस सामाजिक सञ्जालमा जति धेरै संलग्न हुन्छन्, त्यति नै धेरै डोपामिन उत्पादन हुन्छ । नतिजा प्रयोगकर्ता लत लागिराख्ने ‘सामाजिक स्वीकृतिको प्रतिक्रियात्मक चक्र’मा पर्छ । ‘यसले हाम्रा बालबालिकाको दिमागलाई के गर्दै छ भगवान् नै जानून्’ भन्दै पार्करले गहिरो दुःख व्यक्त गरेका थिए ।
फेसबुकका अर्का पूर्व–कार्यकारी अधिकारी चामथ पलिहपितियाले ‘गहिरो अपराधबोध’का कारण आफू सामाजिक सञ्जालविरुद्ध बोल्न प्रेरित भएको बताएका थिए । उनले २०१७ मा स्ट्यानफोर्डमा भएको एक कार्यक्रममा ‘तपाईंलाई प्रोग्रामिङ गरिँदै छ भन्ने तथ्य तपाईंले महसुस नगरे पनि’ सामाजिक सञ्जाल कसरी (र कति) प्रयोग गर्ने निर्णय गर्नु भनेको कुनै पनि व्यक्ति ‘बौद्धिक स्वतन्त्रता’ कति मात्रामा ‘त्याग्न तयार छ’ भन्नेले निर्धारण गर्छ ।
सामाजिक सञ्जालले प्रयोग गर्ने लत लाग्ने प्रतिक्रियात्मक प्रणालीका कारण यसका प्रयोगकर्ता विशेषतः बालबालिका सञ्जाल प्रयोगबारे सूचित वा स्वस्थ निर्णय गर्न सक्षम हुँदैनन् । विश्व स्वास्थ्य संगठनको युरोप क्षेत्रीय कार्यालयका अनुसार किशोर–किशोरीमा समस्याग्रस्त सामाजिक सञ्जाल प्रयोग (कुलतजस्तै लक्षण) नियन्त्रण गर्न कठिनाइ व्यहोरेको र अफलाइन (इन्टरनेट नहुँदा) हुने छटपटीको लक्षण उल्लेखनीय वृद्धि भएको छ । यो समस्या सन् २०१८ मा सात प्रतिशत प्रयोगकर्ताबाट सन् २०२२ मा ११ प्रतिशतसम्म पुगेको छ । अमेरिकामा किशोर–किशोरीले औसत दैनिक चार घण्टा ४८ मिनेट सामाजिक सञ्जालमा बिताउँछन् ।
यी तथ्यांकले गम्भीर जोखिमको संकेत गर्छ । दैनिक तीन घण्टाभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउने किशोर–किशोरीमा आफ्नो समकक्षीका तुलनामा एन्जाइटी (छटपटी÷चिन्ता) र डिप्रेसन (अवसाद) हुने सम्भावना दुई गुणाले बढी हुन्छ । सामाजिक सञ्जालको प्रयोग न्यून आत्मसम्मान, दुव्र्यवहार र कमजोर शैक्षिक प्रदर्शनसँग पनि जोडिएको छ । प्रमाणले देखाएअनुसार सामाजिक सञ्जालले अघिल्लो दशकमा अमेरिकी किशोर–किशोरीमा आत्महत्याको दर वृद्धि हुनुमा प्रमुख भूमिका खेलेको छ । विश्व स्वास्थ्य संगठनले ‘किशोर–किशोरीले सम्भावित हानिकारक सामाजिक सञ्जाल प्रयोगमा सुधार ल्याउन तत्काल र दीर्घकालीन कार्य’ गर्न आह्वान गरेको छ ।
के बालबालिकाले लतजन्य बानीबाट जोगाउन वयस्कलाई कहिल्यै निवेदन गरेका छन् ? जब चुरोटको पहुँचमा नियमबारे बहस भइरहेको थियो के किशोर–किशोरीले आफ्ना आमाबुबालाई चुरोटको जोखिमबारे जानकारी दिन आग्रह गरेका थिए ? तर, सामाजिक सञ्जालले यस्ता अनुरोध उत्पन्न गराएको छ । यसले नै सामाजिक सञ्जालले पु¥याउने क्षति कति गम्भीर छ भन्ने देखाउँछ । सामाजिक सञ्जालको प्रभाव केवल बालबालिकामा मात्र नभई अन्य क्षेत्रमा पनि फैलिएको छ । पलिहपितियाका अनुसार यी कम्पनीले सिर्जना गरेका ‘छोटा अवधिका, डोपामिन–प्रेरित प्रतिक्रियात्मक चक्र’ले समाजको काम गर्ने तौरतरिकालाई ‘नष्ट’ गर्दै छ, मिथ्या जानकारी र ‘भ्रम’ फैलाउँदै छ । पार्करका अनुसार सामाजिक सञ्जालले ‘सार्वजनिक जीवन र एक–अर्कासँगको सम्बन्धलाई आधारभूत रूपमा परिवर्तन’ गर्छ । यो केवल अनुमान मात्रै होइन, वास्तवमा सामाजिक सञ्जाल ‘ध्रुवीकरण इन्जिन’ र हिंसा भड्काउने शक्तिशाली संयन्त्र साबित भएको छ ।
पार्करलाई फेसबुकमा काम गर्दा आफूले लतको खेती गर्ने काम गरिरहेको थाहा थियो र फेसबुकका संस्थापक मार्क जुकरबर्ग, इन्स्टाग्रामका सहसंस्थापक केभिन सिस्ट्रमलगायतलाई यसबारे राम्रै जानकारी थियो । पलिहपितियाका अनुसार उनी र उनका सहकर्मीले नराम्रो हुँदैन भनेर आपूÞmलाई आश्वस्त पार्न खोजे पनि ‘मन भित्रबाट’ यसले लत निम्त्याउने थाहा भएको स्वीकारेका छन् । तर, कुरो विशाल मुनाफासँग जोडिन आउँछ, अर्थात् मानिसलाई सामाजिक सञ्जाल चलाउने जति धेरै लत लाग्छ, सामाजिक सञ्जाल कम्पनीले अधिक प्रयोगकर्ताको तथ्यांक संकलन गर्न सक्थे र त्यसबाट लक्षित एवं व्यक्तिगत विज्ञापन बेचेर बढी मुनाफा कमाउँथे ।
सामाजिक सञ्जाल कम्पनीले आफैँलाई नियमन गर्ने घोषणा सुन्दा राम्रो लागे पनि यो एक फगत कल्पना मात्र हो, किनभने यी कम्पनीको व्यापार मोडेल आधारभूत अधिकारको उल्लंघनमा आधारित छ । आफ्ना जनतालाई सुरक्षित राख्ने जिम्मेवारी निभाउन चाहने सबै मुलुकले मिलेर नयाँ नियामक ढाँचा निर्माण र लागू गर्न आवश्यक छ । यसको पहिलो कदम अस्ट्रेलियाले झैँ सामाजिक सञ्जालको प्रयोगका लागि उमेर सीमा बढाउनु हो ।
(किर्चस्ल्यागर, लुसेर्न विश्वविद्यालयका नैतिक अध्ययनका प्राध्यापक एवं त्यहाँस्थित सामाजिक नैतिक संस्थानका निर्देशक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट