कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ । त्रिवि खेल मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन रन बनायो ।
छैटौँ विकेटका लागि कप्तान सोमपाल कामी र अर्जुन घर्तीले ५६ रनको साझेदारी गरेपछि कर्णाली बलियो स्थितिमा पुगेको हो । अर्जुनले रन आउट हुँदा २२ बलमा ३३ रन बनाए । गुल्सन झाले १३ बलमा अविजित २९ रन बनाएका हुन् । १९औँ ओभरमा हर्ष थाकरलाई अर्जुन घर्तीले २१ रन हान्दै कर्णाली याक्सलाई मध्यम योगफलतर्फ बढाएका हुन् ।
यसअघि १५.२ ओभरमा गुल्सन आउट हुँदा कर्णाली याक्सले ६ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । १० हजारमाथि समर्थक टियू मैदानमा उपस्थित हुँदा कर्णालीका चर्चित खेलाडीहरू शिखर धवन, चाडविक वाल्टन, बाबर हायत र जिसन मक्सुद चल्नै सकेनन् । गुल्सन झाले टोलीलाई केही समय सम्हाले ।
यसअघि पहिलोपटक नेपालमा खेल्न आएका भारतीय चर्चित खेलाडी शिखर धवन १४ बलमा तीन चौकासहित १४ रन बनाएर आउट भएका थिए । पाँच बलको सामना गरेका ओपनर देव खनाल पनि एक रन बनाएर आउट भएपछि कर्णाली दबाबमा आएको थियो । वेस्ट इन्डिजका चाडविक वाल्टनले पनि १३ बलमा जम्मा आठ रन बनाए । हङकङका अनुभवी खेलाडी बाबर हायत पनि २५ बलमा १२ रन बनाएपछि कर्णालीले सोचेजस्तो स्कोर खडका गर्न सकेन । ओमान पूर्वकप्तान जिसन मक्सुद भने डकआउट भए ।
जनकपुरका मोहम्मद वाहसिनले सर्वाधिक दुई विकेट हात पारे । किसर महतो, ललित राजवंशी, हर्ष थाकर, जिमी निसमले समान एक विकेट हात पारे ।
उद्घाटन खेलमा जनकपुरले विराटनगर बोल्ट्सलाई आठ विकेटले हराएको थियो । जनकपुर दोस्रो जितको दाउमा छ । कर्णाली याक्स विजयी सुरुवात गर्ने योजनामा छ । आज नै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराउँदै चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।