शान्तिपूर्ण रूपमा भएको स्थानीय तहको उपनिर्वाचनमा ६२.५ प्रतिशत मत खसेको छ । स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म भएको मतदानमा कुल मतदातामध्ये ६२.५ प्रतिशतले भाग लिएर मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन भएका ४१ स्थानको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार ७९९ मतदाता समावेश थिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले धेरै ठाउँमा मतगणना प्रारम्भ भइसकेको बताएका छन् । ‘६२.५ प्रतिशत मत खस्यो । सबैभन्दा कम काठमाडौं– १६ मा ५० प्रतिशत खस्यो । अन्यत्र हेर्दा (डोल्पाको त्रिपुरासुन्दरी) ८६ प्रतिशतसम्म खसेको छ । समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भयो । धेरै ठाउँमा मतगणना भइसकेको छ । सोमबार रातिसम्म सबै नतिजा आइसक्ने अपेक्षा छ,’ उनले भने ।
आयोगले विज्ञप्ति जारी गरेर उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाउँदै तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिएको छ । प्रमुख आयुक्त थपलियाले दोलखाको गौरीशंकरबाहेक सबै ठाउँको मतपेटिका संकलन भइसकेको बताए । थपलियाका अनुसार दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ को मतपेटिका सोमबार बिहान हेलिकोप्टरमार्फत ल्याएर मतगणना सुरु गरिनेछ ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार एउटा मात्रै मतदानस्थल रहेको १५ वडाको वडाध्यक्ष पदको मतगणना सम्बन्धित मतदानस्थलमा नै हुने व्यवस्था मिलाइएको छ । अन्य स्थानमा सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरी मतगणना हुनेछ ।
उपनिर्वाचनमा ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध भइसकेका छन् । रुकुम पूर्वी पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती पनि निर्विरोध निर्वाचित भएका छन् ।
गृहमन्त्री रमेश लेखकले उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् । निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले निष्पक्षतामा कुनै कसर बाँकी नराखिने बताए । मन्त्री लेखकले मतगणना पनि शान्तिपूर्ण र सुरक्षित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कहाँ कसले जिते ?
स्थानीय तहको उपनिर्वाचनअन्तर्गत आइतबार ४१ पदका लागि सम्पन्न मतदानमा धेरै ठाउँको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार राति अबेरसम्म १३ स्थानमा मतगणना सकिएर नतिजा प्राप्त भएको छ ।
झापाको कन्काई नगरपालिका– ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३५६ मत प्राप्त गरेका छन् । कांग्रेसका रामगोपाल ओली ३१७, माओवादीका गणेशबहादुर थापाले २७७ मत प्राप्त गरेका छन् ।
ओखलढुंगाको मोलुङ गाउँपालिका– ५ मा एमालेका गंगाबहादुर तामाङ ३९९ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका घनश्याम दाहालले १७७ र रास्वपाका विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरेका छन् । त्यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिका– २ मा एमालेका सकिउल खाँ ६३१ मतसहित निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी माओवादीकी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गरेकी छिन् ।
रौतहटको ईशनाथ नगरपालिका– ७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे । त्यस्तै, गोरखा नगरपालिका– ५ मा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४८६ मतसहित विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका भाइकाजी आलेले ४०२ मत पाए ।
गुल्मीको मुसीकोट नगरपालिका– १ मा कांग्रेसका आनन्द श्रेष्ठ ११८४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका दलबहादुर थापाले ९३० मत प्राप्त गरेका छन् । त्यस्तै, रोल्पाको रुन्टीगढी गाउँपालिका– ४ मा कांग्रेसका भूपमणि पुन मगर ६४३ मतसहित निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी एमाले उम्मेदवार वेगम पुनले ५३५ मत प्राप्त गरेका छन् ।
कालीकोटको तिलगुफा नगरपालिका– ४ मा नेमकिपाका खड्गराज शाही १४३ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी माओवादीकी नैशोभा शाहीले ११५ मत पाइन् । त्यस्तै, जाजरकोटको कुसे गाउँपालिका– ७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मतसहित निर्वाचित भएका छन् । माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरेका छन् ।
दैलेखको दुल्लु नगरपालिका– १३ मा एमालेका लालबहादुर शाही ५७४ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत प्राप्त गरेका छन् । ३ मतले एमालेले जितेको हो । त्यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतसहित निर्वाचित भएका छन् । दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत प्राप्त गरे ।
डोटीको पूर्वीचौकी गाउँपालिका– ६ मा कांग्रेसका मोहन थापा ४६८ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका देवबहादुर थापाले ३०१ मत प्राप्त गरेका छन् । त्यस्तै, दार्चुलाको दुहुँ गाउँपालिका– ५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित निर्वाचित भएका छन् । दोस्रो भएका एमालेका मानसिंह बडालले ३५८ मत प्राप्त गरेका छन् ।
