इराकदेखि अफगानिस्तान हुँदै अमेरिकासम्म महिला अधिकार संरक्षण गर्ने कानुन फिर्ता गरिन थालेपछि महिलाका आधारभूत स्वतन्त्रतामा धक्का लाग्न थालेको छ
इराकदेखि अफगानिस्तान हुँदै अमेरिकासम्म महिला अधिकार संरक्षण गर्ने कानुन फिर्ता गरिन थालेपछि महिलाका आधारभूत स्वतन्त्रतामा धक्का लाग्न थालेको छ । सन् २०२१ मा अफगान शासनमा फकिएको तालिवानले केही महिनाअघि मात्रै अफगान महिलालाई सार्वजनिक रूपमा बोल्न प्रतिबन्ध लगाएको छ । गत अगस्टदेखि त महिलालाई गाउन लगाउन, ठुलो स्वरमा पढ्न, कवितावाचन गर्न र घरबाहिर रहेको वेला हाँस्नसमेत प्रतिबन्ध लगाइएको छ ।
इस्लामी कानुनको सबैभन्दा कट्टरपन्थी व्याख्या लागू गर्ने तालिवानले महिलाहरूलाई सार्वजनिक रूपमा ठूलो स्वरमा कुरान पढ्नसमेत प्रतिबन्ध लगाएको छ । अफगानिस्तानमा विगत तीन वर्षमा तालिवानले पटक–पटक गरेर अफगान महिलाका धेरै आधारभूत अधिकार खोसिसकेको छ । पहिले शासनमा फर्किपछि तालिवानले केटीहरूलाई अध्ययनसम्बन्धी प्रतिबन्ध लागू गर्न थाले । सुरुमा महिला र पुरुष एकै स्थानमा बसेर गरिने सहशिक्षामा प्रतिबन्ध लाग्यो । त्यसपछि माध्यमिक विद्यालयमा केटीहरूले बन्देज सामना गरे । सन् २०२३ मा नेत्रहीन केटीहरूको विद्यालय बन्द गरियो भने कक्षा ४ देखि ६ (उमेर ९ देखि १२) सम्मका केटीहरूलाई विद्यालय जाने बाटोमा अनुहार छोप्न अनिवार्य बनाइयो ।
महिलाहरूले अब विश्वविद्यालयहरूमा भाग लिन वा राष्ट्रियस्तरमा डिग्री प्रमाणपत्र प्राप्त गर्न वा कान्दाहार क्षेत्रमा नर्सिङ प्रशिक्षण लिन पनि सक्दैनन् । महिलाहरूलाई उडान परिचर वा घरबाहिरका कुनै पनि काम गर्न अनुमति दिइएको छैन । राजधानी काबुलमा महिलाद्वारा सञ्चालित बेकरीलाई अहिले प्रतिबन्ध लगाइएको छ । नयाँ प्रतिबन्धपछि महिलाहरू आयआर्जन गर्न वा आफ्नो घर छोड्न असमर्थ छन् । सन् २०२४ को अप्रिलमा हेलमन्ड प्रान्तका तालिवानले मिडिया आउटलेटहरूलाई महिलाको आवाजलाई प्रसारण नगर्न उर्दी लगाएका थिए ।
अफगानिस्तान महिला, शान्ति र सुरक्षा सूचकांकमा अन्तिम स्थानमा छ । संयुक्त राष्ट्रसंघ र अन्य अधिकारवादी संस्थाहरूले त्यहाँ जे भइरहेको छ त्यसलाई ‘लैंगिक रंगभेद’को संज्ञा दिएका छन् । अधिकारमाथि कटौतीका अतिरिक्त अफगान महिलाहरू गम्भीर जोखिममा छन् । उनीहरू निगरानी, उत्पीडन, आक्रमण, मनोमानी नजरबन्द, यातना भोग्न विवश छन् र यसको विरोध जनाउने कुनै निकाय पनि अब त्यहाँ छैन ।
विश्वका विभिन्न देशका कूटनीतिज्ञहरूले तालिवानहरूसँग छलफल गरेर यस विषयमा मनाउने प्रयास गरेका छन् । तर, यसले महिला अधिकारमाथिको आक्रमणलाई रोक्न सकेको छैन । अब त कूटनीतिज्ञहरू अफगानिस्तानभित्रको प्रतिआतंकवाद, व्यापार–सम्झौता वा बन्धक फिर्तीजस्ता मुद्दामा केन्द्रित हुन थालेका छन् । छोटो अवधिमै अफगान महिलाहरूले ठुलो प्रतिबन्ध सामना गर्नुपरेको भए पनि यो विषय कूटनीतिज्ञहरूको प्राथमिकता नपरेको आलोचकहरू आरोप लगाउँछन् ।
इराकमा प्रतिगमन
यसैबिच, इराकमा अगस्त ४, २०२४ मा ‘१९५९ व्यक्तिगत स्थिति कानुन’मा एक संशोधनको प्रस्ताव गरियो । त्यसले सामाजिक वृत्तमा तरंग ल्यायो । विवाहका लागि सहमतिको उमेरलाई १८ बाट ९ (न्यायाधीश र आमाबाबुको अनुमतिमा १५ वर्ष) वर्षमा झार्ने प्रस्तावलाई सांसद राद अल–मालिकी र सरकारमा रूढीवादी सिया गुटहरूको समर्थन जनाए ।
कानुनमा पारिवारिक कानुनका मामिला (जस्तै विवाह)लाई धार्मिक अधिकारीहरूले निर्णय गर्ने सम्भावना हुनेछ । यो परिवर्तनले बालविवाहलाई वैधानिक मात्रै दिने होइन, सम्बन्धविच्छेद, बाल हिरासत र उत्तराधिकारसम्बन्धी अधिकार पनि खोस्न सक्छ । इराकमा पहिले नै नाबालिग विवाहको उच्च दर छ । ७ प्रतिशत केटीहरूको १५ वर्ष नपुग्दै विवाह हुन्छ भने २८ प्रतिशतले १८ वर्षको उमेर नपुग्दै विवाह गरेका छन् ।
दर्ता नभएका विवाह कानुनी रूपमा अदालतमा रेकर्ड नभएका, तर धार्मिक वा जनजाति अधिकारीमार्फत गरिन्छ । यसले केटीहरूलाई नागरिक अधिकारमा पहुँच राख्नबाट रोक्नुका साथै न्याय खोज्नका लागि सीमित विकल्पसहित महिला र केटीहरूलाई शोषण, दुर्व्यवहार र उपेक्षाको सिकार बनाउँछ ।
धेरै महिला समूहहरू यस कानुनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । तर, संशोधित प्रस्ताव दोस्रोपटक संसद्बाट पारित भएको छ । यसले थप परिमार्जनका लागि मार्गप्रशस्त गर्न सक्छ । यसले पहिलेदेखि ध्रुवीकृत इराकको साम्प्रदायिक विभाजनलाई थप गहिरो बनाउन सक्छ भने देशलाई एकीकृत कानुनी प्रणालीबाट टाढा लैजान्छ । यो बालबालिकाको अधिकार र लैंगिक समानताको संरक्षणमा एक कदम पछाडि पर्ने समस्याग्रस्त कदम पनि हुनेछ ।
अमेरिकामा गर्भपतन अधिकारमा क्षय
यसैबिच, अमेरिकामा विगत केही वर्षहरूमा गर्भपतनमा महिलाको पहुँच उल्लेखनीय रूपमा घटेको छ । सन् २०२१ को अन्तमा एक अन्तर्राष्ट्रिय थिंकट्यांकले संयुक्तराज्य अमेरिकालाई एक प्रतिगमनकारी लोकतन्त्रको लेबल लगाएको थियो । ६ महिनापछि ‘रो वी वेड’को ऐतिहासिक अमेरिकी सर्वोच्च अदालतको निर्णय (जसले लगभग ५० वर्षसम्म गर्भपतनको संवैधानिक अधिकारलाई सुरक्षित राखेको थियो) उल्टियो । यसले प्रतिबन्धात्मक कानुनको प्रवाह निम्त्यायो । त्यसयता एकचौथाइभन्दा बढी अमेरिकी राज्यहरूले गर्भपतनलाई पूर्ण प्रतिबन्धित गरे वा त्यसमाथि कडा प्रतिबन्ध लागू गरे ।
रिपब्लिकन अमेरिकी कंग्रेस–वुमन मार्जोरी टेलर ग्रिनजस्ता उग्र विधायक त गर्भवती हुने महिलाहरूको विशेषाधिकार भएको भन्दै गर्भवती हुन नचाहने महिला ब्रह्मचारी रहनुपर्ने तर्क गर्छिन् । वास्तवमा, अमेरिकामा प्रत्येक ६८ सेकेन्डमा एक यौन दुर्व्यवहार हुन्छ । प्रत्येक पाँच अमेरिकी महिलामध्ये एक महिला बलात्कारको सिकार हुने गरेका छन् । २००९ देखि २०१३ सम्म युएस चाइल्ड प्रोटेक्टिभ सर्भिस एजेन्सीहरूले बलियो प्रमाण फेला पारे कि प्रतिवर्ष ६३ हजार बालबालिका यौन दुर्व्यवहारको सिकार भएका थिए ।
यी घटनाक्रमले समस्याग्रस्त ढाँचा झल्काउँछ । डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा भएका प्रमाणका आधारमा उनको दोस्रो राष्ट्रपतिकालमा महिला अधिकारको थप क्षय हुन सक्ने अनुमान गरिएको छ । उनको अघिल्लो कार्यकालमा स्वास्थ्य सेवाको पहुँचलाई कमजोर पार्ने महत्वपूर्ण प्रयास भएका थिए ।
तालिवानको दुर्व्यवहार, इराकको प्रतिबन्धात्मक कानुन र गर्भपतन पहुँचमा अमेरिकी प्रतिबन्धले विश्वव्यापी रूपमा महिला र केटीहरूको अधिकारको कमजोरीलाई प्रकट गर्दछ । संयुक्त राष्ट्रसंघीय निकाय ‘युएन वुमन’ले कानुनी सुरक्षामा विश्वव्यापी लैंगिक अन्तर बन्द गर्न अझै २८६ वर्ष लाग्न सक्ने बताएको छ । लैंगिक पारिश्रमिक अन्तर, कानुनी समानता र सामाजिक असमानताका आधारमा अहिलेसम्म कुनै पनि देशले लैंगिक समानता हासिल गर्न सकेको छैन । महिला र केटीहरूले संसारका सबै कुनामा भेदभावको सामना गरिरहन्छन्, र यो अझ खराब हुँदै गएको देखिन्छ । तर, सबै कुराको बाबजुद महिलाहरूले विरोध जारी राख्छन् ।
–द कन्भर्सेसन