राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्रीलाई भेट गरेर परियारले रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धान प्रक्रियासँग केन्द्रित रहेर कुराकानी गरेका थिए ।
प्रधानमन्त्रीसँग भेटर्वार्ता गरेका परियार निजी भ्रमणको सिलसिलामा मंगलबार बेलुकी इन्डोनेसिया प्रस्थान गरेका छन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले प्रधानमन्त्री ओलीलाई भेटेर सभापतिमाथि अनुसन्धानमा भइरहेको विलम्ब र निष्पक्षतामाथि धारणा राख्ने नीतिअनुसार भेटर्वार्ता भए पनि थप विषयवस्तुबारे जानकारी नभएको बताए ।
‘दलहरू सत्तापक्ष या प्रतिपक्षमा भए पनि प्रधानमन्त्री त सबैको हो । त्यसैले उहाँलाई भेटेर पार्टीको धारणा राख्ने प्रयास जारी थियो, त्यसअनुसार नै उहाँले भेट गरेको भए पनि अरू विषयबारे जानकारी छैन,’ उनले भने । मंसिर पहिलो साता रास्वपा प्रवक्ता झाले प्रधानमन्त्री ओलीले आफ्ना नेताहरूलाई आन्दोलनको मागपत्र बुझाउन समय नदिएको गुनासो गरेका थिए ।
रास्वपाले सभापतिमाथि पूर्वाग्रह राखिएकोमा आपत्ति जनाउँदै हिरासतमुक्त गरेर अनुसन्धान गर्न माग गर्दै आएको छ । उसले सत्तापक्षीय एमाले सांसद तथा कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारी जापानको मानव तस्करीमा मुछिए पनि मुद्दा नचलाई रिहा गरिएको घटनाले लामिछानेमाथि पूर्वाग्रह राखेर हिरासतमा राखिएको आरोप लगाएको छ ।