नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले विगतका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित मंगलबार ओलीलाई भेटेर विप्लवले विगतमा सरकार र नेकपाबिच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।
‘विगतमा ओली प्रधानमन्त्री हुँदा भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका छौँ । तपाईंको पालामा भएको सहमति कार्यान्वयन होस् भन्ने कुरा राख्यौँ,’ विश्वकर्माले भने । उनका अनुसार ओलीले सकारात्मक जवाफ दिएका छन् ।
विप्लवले ओलीलाई चीन भ्रमण सफलताको शुभकामना पनि दिएका छन् । ‘भ्रमण सफल होस्, शुभकामना भन्यौँ । देश र जनतालाई केन्द्रमा राखेर निर्णय हुनुपर्छ । ऋण लिने कि अनुदान भन्ने सम्बन्धित देशको विषय हो । यसलाई धेरै गिजोल्न जरुरी छैन । देशको हित हुने गरी अगाडि बढ्नुस् भन्यौँ,’ विश्वकर्माले भने, ‘राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग प्रधानमन्त्री डराउनु हुँदैन ।’ बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्न प्रधानमन्त्री ओली सकारात्मक रहेको पाएको उनले जानकारी दिए ।