पाँच महिनामा १० जना लागुपदार्थ दुर्व्यसनी पक्राउ

बुधबार, १२ मंसिर, २०८१
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका– १ का ४५ वर्षीय रामकुमार खत्री लागुऔषध कसुरमा पक्राउ परे । इलेक्ट्रोनिक, तरकारी र फलफूल पसलसमेत सञ्चालन गर्दै आएका खत्रीलाई लागुपदार्थ ओसारपसारलगायत कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो । 

खत्रीलाई शनिबार भोजपुरको साल्पासिलिछो गाउँपालिका– २ घलेगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । प्रहरीले पक्राउ पर्न सक्ने पूर्वसूचना पाएपछि उनी फरार थिए । उनी खाँदबारीमा लागुपदार्थ कारोबार गर्ने मुख्य नाइके रहेको प्रहरीको भनाइ छ । 

गत शुक्रबार चैनपुर नगरपालिका– ६ डाँगी गाउँका २७ वर्षीय सुजल डाँगीलाई पनि पक्राउ गरेको बस्नेतले बताए । केही दिनअघि मात्रै खाँदबारी नगरपालिका– ८ का नारायण रसाइली र सुनसरी इटहरी उपमहानगरपालिका– ४ का विष्णु शर्मा पक्राउ परेका थिए । उनीहरूको साथबाट खैरो हिरोइन, ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ । साउनयता मंगलबारसम्म पाँच महिनाको अवधिमा १० जना पक्राउ परेको र उनीहरूविरुद्ध जिल्ला अदालत संखुवासभामा तीनवटा मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । 

खाँदबारी, मानेभञ्ज्याङ, तुम्लिङटार र चैनपुरलगायत आसपासका क्षेत्रमा लागुपदार्थ दुर्व्यसनी र लागुपदार्थ कारोबार गर्नेहरूको संख्या बढेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार