कांग्रेसको कोष : कांग्रेस लगातार दुई आर्थिक वर्षदेखि घाटामा छ । ०७९/८० को लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७९/८० मा चार करोड ३५ लाख १८ हजार रुपैयाँ र ०७८/७९ मा तीन करोड ८४ हजार रुपैयाँ कांग्रेस घाटामा छ ।
संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले ‘धनाढ्य राजनीतिज्ञ’लाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । महाधिवेशन भएको तीन वर्षपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।
व्यवसायीका रूपमा श्रेष्ठको शिक्षा, पर्यटन, जलद्यिुत्, घरजग्गा, स्वास्थ्य र बैंकिङ क्षेत्रमा ठुलो लगानी छ । तीन वर्षअघि एक टेलिभिजन अन्तर्वार्तामा उनले आफूसँग २५–३० अर्बको सम्पत्ति रहेको बताएका थिए । श्रेष्ठ अविवाहित छन् ।
१४ पदाधिकारीमध्ये एक पद भएकाले धेरै नेताले कोषाध्यक्ष बन्ने आकांक्षा राख्दै आएका थिए । तर, देउवाले आफूनिकट श्रेष्ठलाई जिम्मेवारी दिएका छन् । पूर्वराज्यमन्त्रीसमेत रहेका श्रेष्ठ ०७९ को निर्वाचनमा चितवन– २ मा रास्वपा सभापति रवि लामिछानेसँग पराजित भएका थिए । उनी संविधानसभा सदस्य थिए ।
पार्टीभित्र महाधिवेशनबाटै निर्वाचित धेरै केन्द्रीय सदस्य र पूर्णकालीन राजनीतिज्ञ हुँदाहुँदै देउवाको रोजाइमा एक व्यापारी परेका छन् । यद्यपि, श्रेष्ठ पनि निर्वाचित केन्द्रीय सदस्य हुन् । लेखापरीक्षण प्रतिवेदनअनुसार पछिल्ला दुई आर्थिक वर्षमा कांग्रेस घाटामा चलेको छ । यद्यपि, दलहरूको आम्दानी र खर्चको संस्थागत रेकर्ड पारदर्शी मानिँदैन ।
विधानको धारा २१(७) मा सभापतिलाई कोषाध्यक्ष मनोनयनको पूर्ण अधिकार छ । विधानमा कोषाध्यक्ष केन्द्रीय समिति सदस्यमध्येबाट मनोनीत गर्ने व्यवस्था छ । सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी अनुमोदन गराउने व्यवस्था छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेस अब बिपीको कांग्रेस नरहेकोसमेत बताए । ‘कांग्रेसमा नयाँ संस्कृति र सिद्धान्तको विकास भएको छ । उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउनुले कांग्रेसको सोच र विचार देखाउँछ । कांग्रेसले कस्ता मानिसलाई प्रमोट गर्दै छ भन्ने यो एउटा बलियो उदाहरण हो,’ उनले भने, ‘सामान्य मानिसलाई कांग्रेसमा कठिन छ । पैसा भए कांग्रेसभित्र जहाँ पनि पुग्न सकिन्छ भन्ने देखिन्छ । यसले कांग्रेस बिपीको रहेन भन्ने सन्देश दिएको छ । बिपी धनीमानीसँग लड्नुपर्छ भन्नुहुन्थ्यो । धनीमानीले पार्टी कब्जा गर्छन् भन्नुहुन्थ्यो । अहिले धनीमानीलाई नै पार्टी बुझाउने काम हुँदै छ ।’
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आर्थिक पारदर्शिता, अनुशासन कायम गर्न सक्ने र कोष व्यवस्थापनमा सक्षम नेतालाई सभापतिले कोषाध्यक्षमा मनोनीत गरेको बताए । ‘पार्टीले सबैलाई समान व्यवहार गर्छ । केन्द्रीय सदस्य हुँदा बिपीको कांग्रेस हुने अनि कोषाध्यक्षचाहिँ नहुने भन्ने हुँदैन । पार्टीलाई आर्थिक व्यवस्थापन गर्ने क्षमता भएको नेता चाहियो । हैसियत भएको नेताले कोष राम्रोसँग सञ्चालन गर्न सक्छ,’ उनले भने, ‘आर्थिक पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न सक्ने क्षमता भएको, कोष व्यवस्थापनमा सक्षम नेतालाई सभापतिले कोषाध्यक्षमा मनोनीत गर्नुभएको हो । यसमा प्रश्न गर्नुपर्ने ठाउँ छैन । लामो अनुभव र सभापतिसँग विश्वासमा रहेर काम गर्न सक्ने भएकाले उहाँ कोषाध्यक्ष बन्नुभएको हो ।’
तत्कालीन प्रधानमन्त्री देउवाले ०७८ असारमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । स्वार्थ बाझिने भन्दै आलोचना भएपछि देउवाले जिम्मेवारी हेरफेर गर्दै ०७८ असोजमा जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री कार्यालयको राज्यमन्त्री बनाए । श्रेष्ठ प्रतिनिधिसभाको सांसदसमेत थिए । उनी कांग्रेसबाट अत्यधिक अवसर पाउने व्यवसायीमा उनी पर्छन् ।
०७८ मंंसिरमा भएको महाधिवेशनअघि कोषाध्यक्षको जिम्मेवारीमा सीता यादव थिइन् । कोषाध्यक्ष नहुँदा कांग्रेसमा मुख्य सचेतकसमेत रहेका श्यामकुमार घिमिरेको संयोजकत्वमा रहेको लेखा समितिले काम गर्दै आएको थियो । कोषाध्यक्षले केन्द्रीय समिति र महासमिति बैठकमा पेस गर्ने लेखापरीक्षण प्रतिवेदन समितिले नै पेस गर्ने गरेका थियो । समिति संयोजक घिमिरेका अनुसार कोषाध्यक्ष नभएको अवस्थामा पार्टी कोष सभापति र महामन्त्रीको हस्ताक्षरमा चल्दै आएको थियो ।
कोषाध्यक्ष नहुँदा नियमित लेखापरीक्षणमा समेत समस्या हुँदै आएको थियो । आर्थिक वर्ष ०८०/८१ पछि कांग्रेसको लेखापरीक्षण हुन बाँकी छ । ‘आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षण भइसकेको छैन । गत फागुनमा महासमिति बैठकमा पेस भएको आर्थिक प्रतिवेदन नै अहिलेको अद्यावधिक विवरण हो,’ मुख्य सचेतक घिमिरेले भने ।
कांग्रेस सचिव प्रकाश शर्माका अनुसार आर्थिक वर्ष ०७९/८० कै लेखापरीक्षण बुझाएर उपनिर्वाचनका लागि दल दर्ता गरिएको थियो ।
लामो समयसम्म महत्वपूर्ण मानिएको पदाधिकारी तहको जिम्मेवारी अपूरै रहँदा कांग्रेसभित्रै आलोचना हुँदै आएको थियो । आर्थिक नीति तथा योजना विभागका संयोजक प्रा.डा. गोविन्दराज पोखरेलले महाधिवेशनको लामो समयसम्म कोषाध्यक्ष नतोकिनु नेतृत्वको उदासीनता रहेको बताएका थिए ।
कांग्रेस विधानमा कोषाध्यक्षका सात काम, कर्तव्य र अधिकार छन् । पार्टीका लागि आवश्यक आर्थिक स्रोत–साधनको व्यवस्था र संरक्षण गर्ने, संवद्र्धन गर्ने तथा सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्ने, केन्द्रीय कार्यसमितिको निर्णयअनुसारको बैंकमा पार्टीको नाममा खाता खोल्ने र सञ्चालन गर्ने, पार्टीको लेबी शुल्क र अन्य सहयोग रकम संकलन गर्ने तथा अभिलेख राख्ने, संकलित रकम पार्टीका विभिन्न काम र निकायको खर्चका लागि निर्णयअनुसार भुक्तानी गर्ने र त्यसको हिसाब राख्ने जिम्मेवारी कोषाध्यक्षलाई छ । त्यस्तै, पार्टीको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने, केन्द्रीय कार्यसमितिले पारित गरेको लेखापरीक्षणसम्बन्धी प्रतिवेदन केन्द्रीय महाधिवेशन र केन्द्रीय महासमितिमा प्रस्तुत गर्ने र अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुने व्यवस्था गरिएको छ ।
कांग्रेस अब बिपीको कांग्रेस रहेन : पुरञ्जन आचार्य राजनीतिक विश्लेषक
कांग्रेसमा नयाँ संस्कृति र सिद्धान्तको विकास भएको छ । उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउनुले कांग्रेसको सोच र विचार देखाउँछ । कांग्रेसले कस्ता मानिसलाई प्रमोट गर्दै छ भन्ने यो एउटा बलियो उदाहरण हो ।
सामान्य मानिसलाई कांग्रेसमा कठिन छ । पैसा भए कांग्रेसभित्र जहाँ पनि पुग्न सकिन्छ भन्ने देखिन्छ । यसले कांग्रेस बिपीको रहेन भन्ने सन्देश दिएको छ । बिपी धनीमानीसँग लड्नुपर्छ भन्नुहुन्थ्यो । धनीमानीले पार्टी कब्जा गर्छन् भन्नुहुन्थ्यो । अहिले धनीमानीलाई नै पार्टी बुझाउने काम हुँदै छ । यसैले कांग्रेस अब बिपीको कांग्रेस रहेन ।