सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी)को ११औँ बैठकमा सहभागी हुन पाँचसदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेका छन्।
उनलाई कम्बोडियाको नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको संसद्का उच्च अधिकारीले स्वागत गरेको सभामुख घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए।
मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका थिए। प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजाल, सभामुखका प्रमुख स्वकीयसचिव तेज प्रकाश भट्टराई र संघीय संसद् सचिवालयका उपसचिव गोपाल सिग्देल रहेका छन्।
कम्बोडियामामा नै रहेका प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ। ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद् र नागरिक समाजबिचको समन्वय एवं सहअस्तित्व र समावेशी सम्बन्धका लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा आइपिटिपीमा छलफल हुने जनाइएको छ।
सभामुख घिमिरेले बैठकमा नेपालको संसद्का तर्फबाट सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ। भ्रमणका अवसरमा सभामुखले कम्बोडिया, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, भियतनाम र लाओसका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। सभामुख नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर ११ गते स्वदेश फर्कने कार्यक्रम छ।