एपिएफ–एसएसबी समन्वयात्मक बैठक : सीमामा तेस्रो देशका नागरिकमाथि निगरानी बढाउने सहमति

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

खुला सीमाका कारण तेस्रो देशका नागरिकको अवैध आवातजावतले बढाएको सुरक्षा चुनौतीमा केन्द्रित भई सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)बिचको आठौँ समन्वयात्मक बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । शनिबार सुरु भई तीन दिन चलेको बैठकमा दुवै देशका सुरक्षा अधिकारीले तेस्रो देशका नागरिकको आवातजावतमाथि निगरानी बढाउने र प्रभावकारी कदम चाल्ने निर्णय गरेका छन् । 

खुला सीमाका कारण तेस्रो देशका नागरिक नेपाल र भारत दुवैतर्फ लुकिछिपी प्रवेश गर्ने समस्या रहेको, त्यस्ता व्यक्तिले दुवै देशको सुरक्षामा जोखिम थपेको एपिएफ र एसएसबीका अधिकारीको निष्कर्ष थियो । नेपालमा भारत हुँदै अफगानिस्तानदेखि म्यानमारसम्मका नागरिकहरू अवैध रूपमा प्रवेश गरी शरणार्थीको रूपमा बस्दै आएका छन् । पछिल्लो समय बंगलादेशी नागरिकहरूसमेत आइरहेका छन् । उनीहरूलाई रोक्न एपिएफका अधिकारीहरूले भारतीय अधिकारीलाई आग्रह गरेका थिए । भारतीय अधिकारीले पनि नेपाल हुँदै अन्य देशका नागरिक भारत छिर्न सक्नेमा चिन्ता जनाएको बैठकमा सहभागी एक उच्च अधिकारीले बताए । साझा समस्या भएकाले थप मजबुत सहकार्यबाट समाधान गर्नुपर्नेमा दुवै देशका अधिकारी सहमत भएका छन् । 

नेपालबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा सशस्त्र सीमा बल (एसएसबी)को तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले बैठकको नेतृत्व गरेका थिए । 

नेपालले लागुऔषध तस्करीको नियन्त्रणको विषयलाई जोडदार रूपमा उठाएको थियो । सीमाबाट सहजै औषधिजन्य लागुऔषध भित्रिने गरेको र त्यो नेपालमा ठुलो समस्या बन्दै आएको छ । यसमा भारतीय सुरक्षा अधिकारीबाट अपेक्षित सहयोग नपाएको नेपाल प्रहरी अधिकारीले गुनासो गर्दै आएका छन् । यसपटक पनि सोही विषयलाई नेपाली पक्षले उठाएको छ । बैठकले सीमा क्षेत्रमा संयुक्त स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमति पनि गरेको छ । एकअर्का देशका नागरिकको आवातजावतलाई मर्यादित र सहज बनाउन सीमाका सुरक्षा निकायको समन्वयमा जोड दिइएको छ । 

हरेक वर्ष हुँदै आएको बैठक समन्वयलाई थप प्रभावकारी बनाउन अबदेखि ६–६ महिनामा गर्ने निर्णयसमेत भएको छ । बैठकमा लागुऔषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरूको रेखदेख तथा संरक्षण, सूचना आदान–प्रदानलगायत दुई निकायबिच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।   

सुझावित समाचार