राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिकाको उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई उम्मेदवारी नदिन धम्की आएको बताएको छ। उम्मेदवारी मनोनयनको तयारी भइरहँदा शनिबार दिउँसो सुजाता थापा र उनका श्रीमान् बल थापालाई करिब ४०–४५ जनाको समूहले घरबाटै लछारपछार गरी अपहरणको शैलीमा अज्ञात स्थलमा लगेको रास्वपाले जनाएको छ।
‘रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुन सक्नेसम्मको यातना दिइएको पाइएको र त्यसपश्चात् निज सुजाता थापा र उहाँको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ,’ रास्वपाले आइतबार विज्ञप्तिमार्फत भनेको छ।
स्थानीय स्रोतलाई हवाला दिँदै रास्वपाले सो कार्यमा नेपाली कांग्रेसका सदस्यहरू संलग्न रहेको बताएको छ। सर्केगाडमा चुनावी प्रचारप्रसारमा खटिएका रास्वपाका केही सदस्यलाई दुर्व्यवहार र कुटपिटसमेत भएको विज्ञप्तिमा भनिएको छ।
‘मधेश प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरूलाई धम्की दिने र प्रलोभनमा पार्नेसम्मका प्रयत्नहरू भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘...यस घटनामा स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोगसमेत समयमै प्राप्त हुन सकेन।’
